– नविना श्रेष्ठ,
काठमाडौं असार २४, २०८२ । विपद् आउँदा डराएर होइन, तयार भएर सामना गर्नुपर्छ भन्ने सन्देश बोकेको एक दिने कार्यशाला शनिबार काठमाडौँमा सम्पन्न भएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको सहकार्यमा भएको उक्त गोष्ठी काठमाडौँ उपत्यकाका युवा स्काउटहरूलाई लक्षित गर्दै आयोजना गरिएको थियो।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष भरतमणि पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। गोष्ठीको अध्यक्षता बागमती प्रदेश स्काउटका प्रमुख आयुक्त शिवकुमार त्वायनाले गर्नुभएको थियो।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय पूर्व सचिव रामगोपाल कर्माचार्य, प्रदेश सामुदायिक विकास आयुक्त धर्मभक्त मल्ल, विभिन्न पालिकाका स्थानीय स्काउट आयुक्तज्यूहरू, रोभर तथा रेन्जर स्काउटहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
तालिमका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बलका विशेषज्ञहरू र स्काउटर राजेश गाईजुले सहभागीहरूलाई विपद् पूर्वतयारी, प्रतिकार्य र उद्धार सम्बन्धी ज्ञान, सीप र व्यवहारिक अभ्यास गराएका थिए।

उक्त कार्यशालाले युवा स्काउटहरूलाई केवल किताबमा पढिएको कुरा मात्र होइन, विपद्को बेला वास्तवमै के गर्ने भन्ने व्यवहारिक बुझाइ प्रदान गरेको सहभागीहरूको अनुभव थियो।
कार्यशालाको मूल सन्देश थियो । “विपद् अघिनै तयार, ताकि विपद् पछि पश्चाताप नहोस्।”


