• TOKHA LIVE

    • २१ असार २०८२, शनिबार ०५:०६

    कागेश्वरी मनोहरालाई घोषणा गरियो पूर्ण खोप सुनिश्चित नगरपालिका

     

    काठमाडौं, असार २१ / “पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका अब औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।

    एक सशक्त खोप अभियान र जनचेतनामूलक पहलका कारण नगरका ९ वटै वडाका खोप उमेर समूहका सबै बालबालिकाले खोप लगाइसकेका छन्। यही उपलब्धिका आधारमा बिहीबार आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालय, टेकुका प्रमुख बसन्त अधिकारीले नगरप्रमुख उपेन्द्र कार्कीलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे।

    नगरपालिका स्वास्थ्य शाखाका अनुसार राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई खोप सुनिश्चित गरिएपछि यो उपलब्धि सम्भव भएको हो।

    कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयकी खोप फोकल पर्सन प्रविना कर्माचार्यले पूर्ण खोप घोषणा गरिन्। साथै, कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले भने, “उत्साह र समर्पणका साथ गरिएको यो अभियानले सफलता पाएको हो। अब हामी यसलाई निरन्तरता दिनेछौं। खोपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, त्यसैले बालबालिका खोपबाट वञ्चित हुनु हुँदैन।”

    कार्यक्रममा सम्पूर्ण वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणाको प्रमाणपत्र वितरण गरियो।

    स्वास्थ्य सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो। गागलफेदी स्वास्थ्य चौकीमा कार्यरत सि.अ.न.मी. गीता ढकाललाई उत्कृष्ट खोप कार्यकर्ता को रूपमा नगदसहित सम्मान गरियो। त्यस्तै ६० वर्ष नाघेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरूलाई पनि नगद र प्रमाणपत्र प्रदान गर्दै योगदानको कदर गरियो।

    कार्यक्रम नगर खोप फोकल पर्सन ज्ञानबहादुर महतको सञ्चालनमा सम्पन्न भयो। कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख तुलाजा लामाले दिएकी थिइन्। साथै उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, र वडा नं. १ का अध्यक्ष मकुन्द गजुरेलले शुभकामना मन्तव्य दिएका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै