• TOKHA LIVE

    • ४ जेष्ठ २०८२, शनिबार १०:०४

    टाेखा–३ मा क्रिस्टल माला तालिम सम्पन्न, महिलाहरूमा आत्मनिर्भरता तर्फको उज्यालो आशा

     

    काठमाडौं, ३ जेठ।
    टोखा नगरपालिका–३ को आयोजनामा सञ्चालित ‘क्रिस्टलको माला बनाउने तालिम’ शुक्रबार एक कार्यक्रमका बिच वडा ३ को सभाहलमा सम्पन्न भएको छ। टाेखा वडा ३ कार्यालयमा आयोजित समापन कार्यक्रममा सहभागी महिलाहरूले आफैंले बनाएका आकर्षक मालाहरू प्रदर्शनीमार्फत देखाउँदै भविष्यमा स्वरोजगारमा लाग्ने अठोट व्यक्त गरे।

    तालिम समापन समारोहमा बोल्दै वडा अध्यक्ष रमेश डंगोलले भने, “सीपमूलक कार्यक्रमले महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउँछ। हामी यस्ता पहललाई निरन्तरता दिनेछौं, आत्मनिर्भरता हाम्रो प्रमुख लक्ष्य हो।”

    तालिमको नेतृत्व राष्ट्रपति पुरस्कारप्राप्त प्रशिक्षक कमला सुवेदीले गर्नुभएको थियो। विदेशमा सिकेको सीप नेपाली दिदीबहिनीहरूसँग बाँड्न पाउनु आफ्नो सौभाग्य भएको बताउँदै उहाँले भनिन्, “आत्मनिर्भर महिला नै समृद्ध समाजको आधार हुन् भन्ने सोचले म यस्ता तालिमहरू गर्दै आएकी छु।”

    वडा सचिव सानु श्रेष्ठले तालिमले महिलाहरूमा आत्मविश्वास बढाएको र आर्थिक अवसरका ढोका खोल्ने विश्वास व्यक्त गरे। वडा सदस्य शान्ता राईले महिलाहरूले घरमै बसेर आम्दानी गर्न सक्ने सीप सिक्नु उल्लेखनीय उपलब्धि भएको बताइन्।

    तालिममा सहभागी महिलाहरूको अनुहारमा नयाँ आत्मविश्वास देखिन्थ्यो। कसैले भन्थिन्, “अब त मलाई लाग्छ, म घरमै बसेर पनि केही गर्न सक्छु।” तालिमले उनीहरूको हातमा सीप मात्र होइन, सपनाहरू बुन्ने हिम्मत पनि दिएको छ। टोखा–३ को यो पहलले स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा सार्थक पाइला चालेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै