धर्मस्थली काठमाडौँ १३ चैत । नेपाल रत्न विद्यालयले कक्षा ९ संचालनको सम्बन्धन प्राप्त नगरेको विषयमा हिमालय टेलिभिजनले भ्रामक समाचार प्रकाशित गरेको भन्दै नियामक निकाय प्रेस काउन्सिल नेपालमा उजुरी परेको थियो। ‘विपन्न विद्यार्थी पढ्ने स्कुल माथि तारकेश्वर नगरपालिकाको वक्र दृष्टि’ शीर्षक राखी प्रकाशित समाचारले चरित्र हत्या गरेको भन्दै नगरपालिकाले काउन्सिलमा उजुरी गरेको हो। सुरुमा काउन्सिलको पत्रलाई बेवास्ता गरेको टेलिभिजनले, काउन्सिलले पुनः चेतावनीयुक्त दोस्रो पत्र पठाएर कालो सूची र अवज्ञाकारीमा राख्ने चेतावनी दिएपछि खण्डन प्रकाशित गरेको छ ।

नगरपालिकाको भनाइलाई स्थान दिँदै टेलिभिजनले मापदण्ड पूरा नगरेको, आवश्यक जनशक्ति नभएको, आर्थिक सहयोगको विवरण नबुझाएको, लेखा परीक्षण प्रतिवेदन पेश नगरेको कारण नेपाल रत्न स्कुलले कक्षा ९ को सम्बन्धन नपाएको खुलाएर समाचार प्रकाशित गरेको छ । पहिलोपटक प्रकाशित समाचार भ्रामक र एकपक्षीय रहेको भन्दै नगरपालिकाको तर्फबाट प्रेस काउन्सिल नेपालमा उजुरी परेको थियो ।

नगरपालिकाले नेपाल रत्न स्कुलले कक्षा ९ को अनुमति नपाउनुको कारण स्पष्ट पारेको छ । नगरपालिकाका अनुसार शिक्षा ऐन तथा विद्यालय शिक्षा व्यवस्थापन कार्यविधि २०७५ को परिच्छेद २ दफा ३ बमोजिम विद्यालय खोल्न वा कक्षा थप गर्न अनुमति आवश्यक पर्ने व्यवस्था छ। तर सम्बन्धित विद्यालयले नियमको उल्लंघन गर्दै अनुमति पत्र नलिई कक्षा सञ्चालन गरेकाले कक्षा ९ को अनुमति नदिएको बताएको छ।
शिक्षा समितिबाट गरिएको अनुगमनका क्रममा विद्यालयले आवश्यक पूर्वाधार पूरा नगरेको, निर्देशिकाले तोकेअनुसारको जनशक्ति नभएको र आवश्यक लेखा परीक्षण प्रतिवेदन समेत पेश नगरेको नगरपालिकाले जनाएको छ। साथै, विद्यालयले दातृ निकाय वा संघसंस्थाबाट प्राप्त आर्थिक सहयोगको विवरण समेत नबुझाएको उल्लेख गरिएको छ।
नगरपालिकाका अनुसार नेपाल रत्न स्कुलमा विभिन्न प्रकारका गुठीहरू रहेको र ती संस्थाहरूको वैधानिकता सम्बन्धमा प्रश्न उठ्दै आएको छ। संघसंस्था नवीकरण सम्बन्धी विवरण पनि नगरपालिकालाई बुझाइएको छैन। बालबालिकाको भविष्यलाई ध्यान दिँदै कक्षा ९ को लागि अनुमति रोकिएको स्पष्ट पारिएको छ।

खण्डन प्रकाशित भएपछि मेयर महर्जनले नुवाकोट एक्सप्रेससँग भने, “चरित्र हत्या गरी समाचार सम्प्रेषण गरेको परिणाम!” उनले आफूहरू प्रेस स्वतन्त्रता र विधिको शासनको पक्षमा रहेको भन्दै समाचारप्रति चित्त नबुझेपछि वैधानिक निकाय प्रेस काउन्सिल नेपालमा उजुरी गरिएको बताए। – नुवाकोट एक्सप्रेसबाट




