• TOKHA LIVE

    • २१ फाल्गुन २०८१, बुधबार २१:२१

    टोखामा मेयर प्रकाश अधिकारीद्वारा ‘मेयर दीर्घायू’ कार्यक्रमको चौथो वर्ष सुरुवात

    काठमाडौं २१ फागुन । टोखा नगरपालिकाले ‘मेयर दीर्घायू’ कार्यक्रमको चौथो वर्ष मंगलबारबाट सुरु गरेको छ। २०७८ सालदेखि सञ्चालनमा आएको यो कार्यक्रममार्फत अहिलेसम्म ६,५०० नागरिकले निःशुल्क स्वास्थ्य परिक्षण लिइसकेका छन्।

    टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीका अनुसार यो वर्ष ५० वर्ष माथिका नागरिकलाई लक्षित गरिएको छ। पहिलो वर्ष ७० वर्ष माथिका, दोस्रो वर्ष ६५, तेस्रो वर्ष ६० वर्ष माथिका नागरिकको स्वास्थ्य परिक्षण गरिसकेकोले यस वर्षदेखि ५० वर्ष माथिकालाई समेटिएको हो। आगामी वर्षदेखि सबै ५० वर्ष माथिका नागरिकलाई निःशुल्क सेवा दिने लक्ष्य रहेको छ।

    कार्यक्रमअन्तर्गत विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परिक्षण, भिडियो एक्सरे, महिलाको भिआइए परीक्षण, थाइराइड परिक्षण, प्रयोगशाला सेवा, प्रोस्टेट क्यान्सर जाँच तथा परामर्श सेवा प्रदान गरिनेछ।

    यस वर्ष १,५०० जनाले सेवा पाउनेछन्, जसमा प्रत्येक वडाबाट १३० जना सहभागी हुनसक्नेछन् भने वडा नं. ३ बाट १५० जना समावेश गरिनेछ। यसअघि दुई स्थानबाट सेवा दिइए पनि यो वर्ष टोखा ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट मात्र सेवा प्रदान गरिनेछ।

    नगरपालिकाले सुत्केरी महिलालाई २ हजार पोषण भत्ता दिँदै आएको छ भने यसै वर्षदेखि मृत्यु भएको परिवारलाई ५ हजार किरिया खर्च प्रदान गर्ने योजना बनाएको छ।

    स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालका अनुसार यो कार्यक्रम सर्ने र नसर्ने रोग पहिचान गर्न महत्त्वपूर्ण छ। लक्षित वर्गमा ५० वर्ष माथिका एकल महिला, गरिब, दलित, असहाय र महिला स्वास्थ्य स्वयम्सेविकाहरू पर्छन्।

    कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, वडाध्यक्षहरू, महिला स्वास्थ्य स्वयम्सेविकाहरू र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै