टाेखालाइभ डट कम/चैत्र ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई संयुक्तरूपमा बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित छलफलमा प्रधानमन्त्रीले संयुक्तरुपमा बजार अनुगमन नगर्दासम्म परिणाम प्रभावकारी आउन नसक्ने बताउनुभएको हो । बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।” प्रधानमन्त्रीले भन्नुभयो, “राजश्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन । ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ ।उहाँले अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न समेत निर्देशन दिनुभयो । “कच्चापदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तीमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्”, उहाँले भन्नुभयो । अनुगमन सीमामा मात्र होइन, आन्तरिक बजारको पनि गर्ने गरी व्यवस्था मिलाउन उहाँको निर्देशन छ । छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, प्रधानमन्त्रीको सचिवालयका पदाधिकारी र व्यवसायी उपस्थित थियो ।

