• TOKHA LIVE

    • ८ चैत्र २०७९, बुधबार २१:३२

    हामीलाई पछाडि फर्कने छुट छैन : राष्ट्रपति

    टाेखालाइभ डट कम/चैत्र ८, २०७९

    नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अब हामीलाई पछाडि फर्कने छुट नभएको बताउनुभएको छ ।  महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल समृद्ध बनाउनुपर्ने भन्दै मुलुकमा विकासको ठूलो सम्भावना रहेको र यसका लागि सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपालका निर्माण व्यवसायीको समस्याबारे आफू जानकार रहेको स्पष्ट पार्दै उहाँले आफूले सक्ने जिम्मेवारी लिएर भरपर्दो काम गर्न व्यवसायीलाई सुझाव दिनुभयो । मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको उहाँको भनाइ छ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीमैत्री ऐन कानुनको अभावमा विगतमा व्यवसायीले धेरै झमेला सामना गर्नुपरेको गुनासो गर्नुभयो । सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनका कारण भने निर्माण उद्योगमा केही सुधार देखिएको अध्यक्ष सिंहले जानकारी दिनुभयो । पछिल्लो समय राज्यले व्यवसायीलाई भुक्तानी नदिँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको विषयमा अध्यक्ष सिंहले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा महासङ्घको तर्फबाट पौडेललाई बधाई दिँदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभयो । इन्टरनेशनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसनका अध्यक्षसमेत रहनुभएका अध्यक्ष सिंहले आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा हुने ४६औँ इफाप्का सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति पौडेललाई आमन्त्रण गर्नुभएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै