टाेखालाइभ डट कम/ नविना श्रेष्ठ
चैत्र ७,२०७९
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मंगलबार मनाइँदै छ । जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइन्छ। नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ। भने टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहन्छ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकोले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गर्दै आएको छ। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबिने विश्वासले यो पर्व मनाउदै आएको छ। साथै कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने गरिन्छ।यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

