टोखा लाइभ। २७ माघ २०७९
टोखा चण्डेश्वरीमा नेवार समुदायको संस्कार अनुसार वैदिक विधिपुर्वक कन्याहरुको लागि सामुहिक ईही अर्थात बेलविवाह र बालकहरूका लागि ब्रतबन्ध ( क्यता पूजा)सम्पन्न भएको छ ।
गजराज जोशी ट्रष्ट काठमाडौं टोखा को आयोजनामा उक्त कार्यक्रम चण्डेश्वरी मन्दिरको प्रांगणमा ६० जना ईही गर्ने कन्याहरूको सहभागिता रहेको थियो भने ब्रतबन्धमा ३० जना बालक ( बटुक) को सहभागिता रहेको मनिष जोशीले जानकारी दिए। नेवार समुदाय भित्रकै पुरोहितले परम्परागत सांस्कृति र विधि अनुसार बालिकाहरुको इही र ब्रतबन्ध सम्पन्न गराएको हो ।

नेवारी समुदायमा बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । परम्परा धान्नका लागि मात्र नभएर यसको आफ्नै विशेष महत्व छ । तीन बर्षदेखि माथि एघार बर्षसम्मका बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । नेवार कन्याहरूको रजस्वला हुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने नेवार समुदायको मान्यता छ । बेल जडीबुटीमध्ये श्रेष्ठ प्रजाति हो । बेलविवाहमा बेललाई स्वर्णकुमार मानेर बालिकाको विवाह गराई दिनुलाई अगाध प्रकृतिप्रेमको रूपमा लिन सकिन्छ । विवाह सकिएपछि भने बालिकाहरुलाई ८४ व्यन्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ ।

बेलविवाह, इहीपछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा शृङगार गर्न सक्छन् । इही गरेका चेलीहरू कहिल्यै पनि विधवा हुदैनन् भन्ने विश्वास र मान्यता समुदायमा पाइन्छ । व्यक्तिगत रुपमा बेलविवाह सम्पन्न गर्दा धेरै फजुल खर्च हुने भएपछि न्यूनिकरण गर्ने उद्धेश्यले पछिल्लो केही दसक यता टोखामा सामूहिक वेलविवाह र ब्रतबन्ध गर्नेको जमात बढदो रहेको छ ।

