• TOKHA LIVE

      TOKHA LIVE

    • १६ माघ २०७९, सोमबार २१:२७

    कार्टुनिष्ट शरद रञ्जितलाई बराथा स्मृति सम्मान प्रदान

    टाेखालाइभ डट कम/ माघ १६ ,२०७९

    नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरद रञ्जित‘बराथा स्मृति सम्मान २०७९’ बाट सम्मानित भएका छन् ।कार्टुनिस्ट क्लब अफ नेपालले शनिबार  बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनलाई सम्मान गरिएको हो ।क्लबका अध्यक्ष बासु क्षितिजको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि एबम कार्टुनिष्ट क्लब नेपालका संस्थापक अध्यक्ष अशोकमान सिंहले क्लबको स्थापनाको उद्देश्य र अवस्था बारे बताउँदै नेपाली व्यंग्यचित्रका क्षेत्रमा रञ्जितले अतुलनीय योगदान दिएकोबताउनुभयो ।  सिंहले पुराना अनुभवीहरुको सम्मान कार्यक्रमले पुरानाको अनुभव साझा हुने र नयाँ पुस्तालाई मार्ग निर्देश हुने बताए ।

    सम्मानित व्यक्तित्व शरद रञ्जितले पहिला नयाँ गोरेटो नामको प्रौढ शिक्षाको पुस्तिका र भाँडभैलोलगायत व्यङ्ग्य पत्रिकाको प्रकाशन गर्दाको अनुभव सुनाउनु भयो । रञ्जितले क्लबलाई धन्यवाद दिँदै विगतलाई सम्झिएर अझै व्यंग्यचित्रमा काम गर्न हौसला पाएको बताउनुभयो । उनले नेपाली व्यंग्यचित्रलाई अझै सशक्त ढंगले अगाडि बढाउन क्लबले काम गर्नुपर्नेमा जोड दिए । क्लबका निवर्तमान अध्यक्ष तथा अग्रज कार्टुनिस्ट अविन श्रेष्ठले अग्रजले बनाएको व्यंग्यचित्रको गोरेटोमा अहिलेका कार्टुनिस्टलाई काम गर्न सजिलो भएको बताए । उनले अग्रजको योगदानले नै कार्टुन विधाले फड्को मार्न सकेको विचार व्यक्त गरे । श्रेष्ठले भने, ‘कार्टुन क्षेत्रमा शरद रञ्जित र प्रा.रामकुमार पाँडेको योगदानले यो क्षेत्र यहाँसम्म आइपुगेको हो । हुनत यस क्षेत्रमा अझै व्यापक ढंगले काम गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

    ’ क्लबका अध्यक्ष वासु क्षितिजले विगत आठ वर्षदेखि संस्थाले निरन्तर रुपमा सम्मान प्रदान गर्दै आइरहेको बताए । उनले नेपाली व्यंग्यचित्रका क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वलाई क्लबले वार्षिक रुपमा सम्मान गर्दै आएको सुनाउँदै अग्रजको सम्मानले नयाँ पुस्तालाई हौसला मिल्ने विचार व्यक्त गरे । सो अवसरमा २०७६ सालको बराथा स्मृति सम्मानबाट प्रा.रामकुमार पाँडेलाई सम्मान गरिएको थियो । प्रा.पाँडेले सो अवसरमा नेपाली कार्टुनको इतिहास र उतारचढावका बारेमा चर्चा गरे । दिवङ्गत वरिष्ठ कार्टुनिष्ट बलराम थापाको नाममा सम्मान राखेर क्लबले यसको सुरुवात गरेको जानकारी दिनुभयो । स्मरणीय छ, बलराम थापा गोरखापत्रमा आबद्ध हुनुहुन्थ्यो । यस्तै संस्थाका उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपालमा कार्टुनको संस्थागत विकास र यसका आयामका बारेमा चर्चा गरेका थिए । क्लबका महासचिव रवि मिश्रले नेपाली कार्टुनमा पुराना र नयाँ पुस्ताका कलाकारलाई संस्थाले एक ठाउँमा जोडेको बताउँदै बराथा स्मृति सम्मानका बारेमा चर्चा गरेका थिए ।

     

     

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै