टाेखालाइभ डट कम/ पौष २४,२०७९
विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो । समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो ।
राहदानी विभागले आज एक सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ । सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो ।राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको बैठकमा निर्देशन दिनुभएको थियो । सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

