टाेखालाइभ डट कम/ पुस १३,२०७९
काठमाडौं–पछिल्लो समय शिक्षामा सरकारले थुप्रै लगानी गरेता पनि शिक्षाको गुणस्तरलाई लिएर जनमानसमा सधै चिन्ताको विषय बनिरहेको छ। यिनै शिक्षालाई सरोकारवालाहरुले गर्नुपर्ने कार्य तथा शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध व्यंग्य गरिएका कार्टुन चित्रको राजधानीमा दुईदिने प्रदर्शनी सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको आयोजना र कार्टुनिस्ट क्लब अफ नेपालको सहयोगमा ब्ल्याकबोर्ड’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यहि पुस ११ र १२ गते दुई दिन भएको प्रदर्शनीमा दुई दर्जन कार्टुनिस्टका ६५ वटा कार्टुन राखिएको थियो ।

प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतिलाई व्यंग्य गरेका छन् । नेपालको शिक्षा अवस्था र उच्च शिक्षाका लागि विदेशमा जानुपर्ने नेपाली विद्यार्थीको बाध्यतालाई समेत कार्टुनमा देखाइएको छ । कार्टुनका माध्यमबाट शैक्षिक मुद्दालाई अझ बढी मुखरित बनाउन र सशक्त सन्देश दिने उद्देश्य आयोजकले राखेको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालका अध्यक्ष राजेन्द्र पहाडीले समग्र शैक्षिक क्षेत्रमा देखिएका विसंगतिलाई कार्टुनमार्फत् प्रदर्शनी गरेर जवाफदेहिताप्रति सबैलाई सचेत हुन आव्हान गरिएको छ । रुपान्तरणसहितको सार्वजनिक शिक्षामा आधारित सार्वजनिक शिक्षा सम्मेलन–२०७९ को अवसरमा शैक्षिक क्षेत्रका विषयलाई प्रभावकारी ढंगले सम्प्रेषण दिने लक्ष्य राखेर कार्टुन प्रदर्शनी गरिएको बताए ।

उनलेे बितेका करिव तीन वर्ष कोभिड–१९ महामारीले नेपालको शिक्षालाई नराम्ररी असर पु¥याएको बताए । खासगरी, विद्यार्थीको सिकाइमा अपूरणीय क्षति पुगेका जनाउँदै यही क्षतिबीच नेपालको विद्यालय शिक्षाको गुणस्तरलाई लिएर थप चिन्ता हुन थालेको विचार व्यक्त गरे । उनले भने, ‘यो अवस्थामा मूलतः सार्वजनिक शिक्षामा राज्यको लगानी, सुशासन तथा जवाफदेहिता, शिक्षामा निजीकरण एवं व्यापारीकरण, शिक्षक व्यवस्थापन र पेशागत दक्षता जस्ता मूल मुद्दामा रही शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले प्रारम्भदेखि नै बहस छेड्दै आएको छ । यी मुद्दालाई सरोकारवाला र सरकारसम्म पुर्याउन अन्तक्र्रिया, छलफल, बहस, सार्वजनिक सुनुवाई, विज्ञप्ति/आह्वान, प्रदर्शन जस्ता क्रियाकलापहरु हामीले गर्दै आयौं ।’
अध्यक्ष पहाडीले अब शैक्षिक मुद्दालाई अझ बढी मुखरित बनाउन नवीन शैली र सशक्त सन्देश दिने माध्यम अपनाउनु पर्छ भन्ने बुझाई साथ कार्टुन प्रदर्शनी गरिएको बताए ।
कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले बहुसंख्यक जनताका छोराछोरी नेपालको सार्वजनिक शिक्षामै पढिरहेको बताउँदै यही सार्वजनिक शिक्षा नसुध्रिएको अवस्थामा जवाफदेहिता खोज्न कार्टुन प्रदर्शनीको आयोजना गरिएको बताए । उनले भने, ‘यो नसुध्रिएसम्म देशको समग्र शिक्षा पक्कै सुध्रिँदैन । यही मर्मलाई आत्मसात् गरी शिक्षक, विद्यार्थी, अभिभावक, सरकार र सम्बन्धित पक्षलाई बुझिनेगरी सन्देश दिनु अहिलेको आवश्यकता हो । यस्तो सजिलै रोचक–घोचक तरिकाले बुझाउने माध्यम कार्टुन कला हो ।’
उनले शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले यही विधामार्फत् नेपालको सार्वजनिक शिक्षाको पक्षमा सन्देश प्रवाह गर्न र नीतिगत कमजोरीमाथि औंल्याउन क्लबसँग सहकार्य गर्ने प्रस्ताव राखेपछि कार्टुनिस्टलाई पनि यो अभियानमा सँगसँगै हिँड्ने मौका मिलेको बताए ।
प्रदर्शनीमा राखिएका कार्टुनले नेपालको शिक्षामा भोगिएका दुई अवधिलाई झल्काउँछन् । एउटा हो, कोभिड–१९ को संकटपूर्ण अवधि र अर्काे हो वर्तमान शिक्षाको दुरावस्था । कोभिड महामारीमा भोग्नुपरेको कठिनाई, शिक्षामा अहिलेको बेथिति, संविधानमा व्यवस्था भए पनि बालबालिकाले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा पाउन बञ्चित हुनु परिरहेको अवस्थालगायत दर्जनौं मुद्दालाई कार्टुनमा दर्शाउन खोजिएको छ । कोभिड–१९ को अवधि सिकाइमा सूचना प्रविधिलाई आत्मसात् गर्ने एउटा अवसर पनि थियो । यसमा केही न केही प्रयास पनि भएकै हुन् । तर, बहुसंख्यक विद्यालयका विद्यार्र्थी यो अवसरबाट बञ्चित बने ।’ क्षितिजले अहिले पनि शिक्षा ‘ब्ल्याकबोर्ड’ कै चरणमा गुज्रिरहेको छ भन्न भाव झल्काउन यो कार्टुन प्रदर्शनीलाई विम्बका रुपमा ‘ब्ल्याकबोर्ड’ नामकरण गरिएको सुनाए । उनले अवश्य पनि कार्टुन प्रदर्शनीले सार्वजनिक शिक्षा सुधार्न घच्घचाउने, कार्टुनका सन्देश सिंहदरबारदेखि विद्यालयका कक्षाकोठा र अभिभावकका कानसम्मै पुग्नेछ भन्ने विश्वास लिएको बताए ।
प्रदर्शनीमा आयोजक एनसिई नेपालका महासचिव सुदर्शन सिग्देलले जिम्मेवार निकायलाई जवाफदेही र शिक्षालाई निःशुल्क बनाउनका लागि प्रदर्शनीमार्फत सचेत गराउन खोजिएको बताउदै शिक्षामा भएका विकृतिलाई कार्टुनमार्फत् झटारो हान्न खोजेको बताए ।
ब्ल्याकबोर्ड’ शीर्षकको प्रदर्शनीमा अशोकमान सिं, अविन श्रेष्ठ, वासु क्षितिज, देवेन्द्र थुम्केली, केशव राज खनाल, रवि मिश्र, भानु भट्टराई, रवीन्द्र मानन्धर, दीपक गौतम, आर के थापा, योगेश खपांगी, कृष्णगोपाल श्रेष्ठ, राजेश मानन्धर, उमेशचन्द्र अधिकारी, सुजिता महर्जन, सानुराज डंगोल, सुदर्शन सिग्देल, सागर शाह, रामहरि रिमाल, पानसिंह तमोर, महेश बस्ताकोटी, विरोचन मल्ल, विश्व थापा र देव कोइमीका कार्टुन चित्र प्रदर्शनीमा राखिएका थिए ।

