टोखा लाइभ। २५ मंसिर २०७९
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको दोहास्थित अल थुमा रङ्गशालामा शनिवार भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १- ० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम बनेको छ। इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा सिमित भएको थियो । अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा हराएको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाईहराएको छ । मोरक्को सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि क्रोएसिया र अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेका छन् ।
मोरक्कोका लागि युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका हुन् । मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा भिड्नेछ ।

