टोखा लाइभ। १२ मंसिर २०७९
काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ । काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउन नेपाल प्रहरी, नगर प्रहरी एवम् सशस्त्र प्रहरी डोजरसहित पुगेपछि स्थानीयबासी प्रतिकारमा उत्रेका थिए ।
स्थानियले कुनै पनि हालतमा डोजर चलाउन नदिने भन्दै ढुंगामुढा गर्दै, टायर बाल्दै आन्दोलनमा उत्रिएपछि डोजर लिएर पुगेको प्रहरी फिर्ता भएको छ ।
थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो ।
झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरुले उपचार गरेका थिए ।
सो क्रममा काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ ।
अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ । झडपमा घाइते अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।

