टोखा लाइभ। ६ मंसिर २०७९
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौँ क्षेत्र नं ४ मा मत माग्नुभएका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित भएका छन्। निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उनले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाएका थिए । विसं २०३३ साउन ४ गते काठमाडौँमा जन्मनुभएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी भएका उनी नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध भए । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित भएका थिए ।
विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उनी विद्रोही समूहबाट सचिव निर्वाचित भएका हुन् । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित भए । विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका थिए । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित भए । नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उनी चर्चामा आए ।
राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो ।
सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उनले धेरै ठाउँमा सम्बोधन गरे । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहेका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बने । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकामा महमान्त्रीमा भने पराजित भएका थिए ।
महामन्त्रीमा हारेपनि थापा केन्द्रीय सदस्य पदमा मनोनित भए । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौँ–४ बाट उनी पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित भएका थिए। सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरे भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित भएका थिए। स्वास्थ्य मन्त्री हुँदा उनले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाएका थिए।
स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनी काठमाडौँ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित भएका थिए । कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गरेका थिए ।
फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तक्र्रिया गर्न रुचाउने थापा सबैका अनुभव सुन्न लालायित बन्छन् । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेप्नुभएका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका थिए ।

