टाेखालाइभ डट कम/रामहरि रिमाल
मंसिर ५,२०७९
नुवाकोट /प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यअन्तर्गत नुवाकोटमा न्यून मत खसेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेको थियो भने आइतबार सम्पन्न आम निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभयो ।
उहाँको अनुसार निर्वाचन क्षेत्र नं १ मा करिब ४५ प्रतिशत र निर्वाचन क्षेत्र नं २ मा करीब ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ ।
दुई लाख ३९ हजार सात सय २६ मध्ये एक लाख ३० हजार तीन सय ९८ मतदाताले मतदान गरेका छन् ।
निर्वाचन क्षेत्र नं १ को शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी गाउँपालिकामा न्यून मत खसेको प्रारम्भिक विवरणमा देखिएको हो । दुई वटा प्रतिनिधिसभा र चार प्रदेससभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल तयार गरेर गणना सुरु गर्न लागिएको छ ।
नुवाकोटमा अहिले दुईवटै निर्वाचन क्षेत्रमा मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सम्पन्न गरेपछि गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन क्षेत्र नं १ को मतगणना निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको ठाउँ तादी गाउँपालिकाको कार्यालय रहेको स्थान खरानीटार र क्षेत्र नं २ को गणनाकार्य मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरस्थित जिल्ला अदालतमा गर्न लागिएको छ । मतगणनास्थलमा सिसिटिभी क्यामरा जडान र तारजालीको निर्माण गरिएको छ ।

