टोखा लाइभ।२०७९ मंसीर १ गते।
काठमाडौँ – राजनीतिक दलहरूले प्रचार प्रसार गर्न पाउने आज अन्तिम दिन हो । आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार बिहीबार राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुँदै छ। ‘मौन अवधि’ सुरु हुन केही समय बाँकी रहँदा आज उम्मेदवारहरू प्रचार प्रसारको अन्तिम कसरतमा जुटेका छन् ।
आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि ‘स्थिर समय’ भन्दै आज राति १२ बजेपछि प्रचारप्रसार गर्न नपाइने आचारसंहिता बनाएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य अर्यालले ४ मङ्सिरको ४८ घण्टाअघि ‘समय स्थिर’ लागू गरिएको जानकारी दिए । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न नपाउने उनले प्रस्ट पारे ।
यसअघि, सो समयलाई ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ मानिने उनले बताए ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन । यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

