• TOKHA LIVE

    • ९ कार्तिक २०७९, बुधबार ०७:१९

    नेपाल संवत् ११४३ मनाइॅदै

    टोखा लाइभ । , ०९ कार्तिक २०७९

    काठमाडौं- नेवार समुदायले नयाँ वर्षका रूपमा आज नेपाल संवत (११४३ ) मनाउँदै छन् । नेपाल संवत्लाई विश्वमा प्रचलित संवतहरू मध्येकै भिन्न संवत् मानिन्छ । संस्कृतिविद्हरूका अनुसार नेपाल संवत् देशको नाममा प्रचलनमा ल्याइएको एकमात्र संवत हो । ‘विश्वमा कुनै पनि संवतहरू कुनै धर्म, धार्मिक नेता, शासकहरूको नामबाट रहेका छन्,’ संस्कृतिविद् हरिराम जोसीले भने, ‘चन्द्रमानक पात्रोमा आधारित आफ्नै आत्मालाई पूजा गर्ने संवत् नेपाल संवत् मनाउने प्रचलन नेपालमा मात्रै छ ।’

    नेपाल संवत् गोबर्धन पूजा, गोरु पूजा, म्हपूजा अर्थात कात्तिक शुक्लपक्ष प्रतिपदाको दिन मनाइँदै छ । नेपाल संवत्को दिन विशेषगरी नेवार समुदायमा आफ्नो शरीरको पूजा गर्ने चलन छ । यो संवत् राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८८) मा सुरु गरेका थिए । राजाले गरिब जनतालाई ऋणमुक्त गराएपछि यो संवत्को सुरुवात भएको मानिन्छ ।
    संस्कृतिविद्हरू नेपाल संवत्को रोचक रहेको बताउंछन। ‘नेपाल संवत्को प्रसंग अत्यन्तै रमाइलो छ,’ उनले भने, ‘अहिले पूरानो कथन सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर हामीले गरेको अध्ययनमा यसरी नै नेपाल संवत सुरु भएको हो भन्ने भेटिएको छ ।’ ओम धौवडेका अनुसार करिब एघार सय वर्ष पहिले भक्तपुरका एक जना ज्योतिषले काठमाडौं विष्णुमति नदीको सहायक नदी लखु तिर्थबाट विशेष मन्त्रोचारणसहित मध्यरातमा बालुवा लिएर भक्तपुर गएका थिए । उनले लगेको बालुवा भोलिपल्ट सुनमा परिणत भयो । यो कुरा ज्योतिषले भक्तपुरका तत्कालीन राजालाई सुनाए । उनको कुरा सुनेपछि राजा उत्साहित हुदै मध्यरातमा विष्णुमतिस्थित लखुतिर्थबाट बालुवा ल्याउन आफ्ना ज्यामीहरूलाई खटाए ।

    मध्यरातमा ज्यामीहरू मन्त्र जपेजस्तै गरी एक अनौठो भाका गाउँदै बालुवा निकालेको विष्णुमति छेउका स्थानीय शंखधर साख्वाःले देखे । ‘ज्यामीहरूले बोरोमा बालुवा भरिरहेको देखेपछि बालुवा ननिकाल्नु भन्दै शंखधरले हप्काएछन्,’ संस्कृतिविद् ओमले भने, ‘मध्यरातमा बालुवा लिन आउनुको विशेष कारणबारे अनभिज्ञ ज्यामीहरूले हामी राजाको आदेशले आएको बताए, त्यसपछि शंखधरले राजाले मध्यरातमा बालुवा लिन पठाउनुमा विशेष कुरा लुकेको हुनुपर्छ भन्दै ज्याला दिएर त्यो बालुवा आफ्नो घरमा लग्न ज्यामीलाई अ¥याएछन् ।’ शंखधरले बालुवा आफ्नो घरको छिंडीमा ल्याएर राखे । भोलीपल्ट बालुवा सुनमा परिणत भयो ।
    जोसीका अनुसार शंखधर यसरी अकस्मात रातारात धनी बनेपछि ऋणमा डुबेका प्रजाहरूको सम्पूर्ण ऋण तिरिदिने र राज्यले पनि देशको नाममा नयाँ संवत् चलाउनुपर्ने सर्त राजा राघवदेव समक्ष राखेका थिए । उनको कुरालाई राजाले स्वीकारे । मानदेव संवत ३०४ पूरा भएको भोलिपल्ट तिहारको म्हपूजा (गोबर्धन पूजा अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदा)को दिनदेखि चन्द्रमानक पात्रोमा आधारित नेपाल संवत् प्रचलनमा आयो ।

    त्यतिबेला देशको नामबाट चलाइएको विश्वको एक मात्र संवत नेपाल संवतको प्रादुर्भाव भएको संस्कृतिविद् ओम धौवडे बताउँछन् । ‘नेपाल संवत् कुनै नेवार जातिको मात्रै होइन, यो सम्पूर्ण नेपालीहरूको हो,’ उनले भने, ‘अरु संवत्मा गाई र गोबर्धन पूजा गरेजस्तै नेपाल संवत् सुरु भएको दिन आत्माको पूजा गरिन्छ ।’ उनले नेपाल संवत् सुरु भएको दिन आफैंले आफैलाई पूजा गर्दा मनमा शान्ति मिल्ने र आफ्ना संकल्प पूरा हुने किवंदन्ती रहेको बताए । ‘यो दिन शंखधरले जनहितमा काम गरेर राजाले नेपालले पनि आत्मसात गरेका थिए,’ उनले भने, ‘नेपाल संवत्को दिन आफ्नो पूजा गरे मनको रोग हट्छ भन्ने विश्वास पनि छ ।’

    उनले नेपाल संवतका प्रबर्तक कुनै राजा, रजौटा वा धार्मिक नेता नभएर काठमाडौंका एक सर्वसाधारण शंखधर साख्वाको विशेष योगदान र पहलमा उक्त संवत् स्थापना भएकोले यसलाई सबैले मान्नुपर्ने बताए । ‘नेपाल संवतको मूल मर्म आत्मलाई शान्ति राख्नु र नयाँ कामको थालनी गर्नु हो,’ संस्कृतिविद् ओमले भने, ‘यो आत्मशान्तिको प्रतीक हो ।’ त्यसो त नेपाल संवत्का प्रबर्तक हुन् भनि केही वर्ष अघि नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान समेत प्रदान गरेको थियो ।

    संस्कृतिविद् ओम धौवडेलका अनुसार नेपाल संवत् दिपावलीको बेलामा मनाइने एक रोचक पर्व पनि हो । यो समयमा नेवार समुदायका व्यक्तिले आफ्नो शरीरको पूजा गर्ने गर्छन् । ‘वर्षदिनमा एक दिन आफ्नो शरीरको रोग पनि पखाल्नुपर्छ, नेपाल सवंत्ले पनि त्यही भन्छ,’ उनले भने ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै