• TOKHA LIVE

    • ६ कार्तिक २०७९, आईतवार १५:५६

    स्पेनी राजा नेपाल भ्रमणमा आउन ईच्छुक

    टोखा लाइभ । २०७९ कार्तिक ६ गते।

    काठमाडौं । स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन्। स्पेनका लागि नेपाली राजदूतका रूपमा नियुक्त शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताए। भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट गर्दै राजदूत ढकालको कार्यकालमा दुई देशबीच परस्परको सहकार्य र सहयोगका आधारमा सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरे।

    राजदूत ढकालले नेपालमा कोभिड संकटका बेला युरोपियन युनियनका देशमध्ये शुरुवाती चरणमा नै स्पेनबाट मानवीय सहायता प्राप्त भएको भन्दै आभार प्रकट गरिन्। उनले दुई देशबीचको सम्बन्ध विस्तारमा आफ्नो योजना तथा कार्यक्रमबारे राजालाई जानकारी गराएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ। भेटका क्रममा राजासँगै त्यहाँका परराष्ट्र सचिव, अन्य विशिष्ट अधिकारीहरुको सहभागी रहेको दूतावासले उल्लेख गरेको छ। राजदूत ढकालले यसअघि ओमनको राजदूतका रुपमा कार्यकाल सम्हालिसकेकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै