टाेखालाइभ डट कम/नविना श्रेष्ठ
असोज २६,२०७९
काठमाडौं /अब १ लिटरको बोटलको पानी मात्र १६ रुपैयाँमा बिक्रि गर्ने, नगरेमा कारबाही हुने चेतावनी दिएको छ। बजारमा पानीको मुल्यमा मनपरी भइरहेको हुदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलले त्यस्तो नगर्न निर्देशन दिएको हो। विभागले एक सुचना जारि गर्दै दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका आधारमा अधिकतम खुद्रा मूल्य निर्धारण भएको हुदा त्यो भन्दा बढीमा बिक्रि नगर्न निर्देशन दिएका छन्।
विभागले काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानी अधिकत्तम १६ रुपैयाँमा बिक्रि गर्न मिल्ने र २० लिटरको जारको पानी अधिकत्तम ४७ रुपैयाँमा बिक्रि गर्न मिल्ने भनेकोले यस्तो गरेको बताएका छन्। काठमाडौं उपत्यका बाहिर १ लिटरको बोटलको पानी अधिकत्तम २० रुपैयाँमा बिक्रि गर्न मिल्ने र २० लिटरको जारको पानी अधिकत्तम ६०रुपैयाँमा बिक्रि गर्न मिल्ने भनेको छ। उल्लेखित मल्य भन्दा बढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार बिक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारवाही गर्ने विभागले जनाएका थिए।
त्यस्तो मूल्य भन्दा बढी रकम तिरेर पानी खरिद नगर्नुहुन र कहिँकतै कसेले जबरजस्ती बढी रकम लिन खोजेमा यस विभाग वा मातहतका कार्यालयमा, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन आम सर्वसाधारण उपभोक्तालाई अनुरोध गरेको छ । पानीको मूल्य निर्धारण गर्ने विषयमा उपभोक्तालाई दिईएको निर्देशनलाई नमानी बढी मूल्य लिईएमा बिक्रेतालाई हदैसम्म कारबाही गर्ने निर्देशन दिएको छ।

