टाेखालाइभ डट कम/नविना श्रेष्ठ
असोज ११,२०७९
काठमाडौं /यो वर्ष पचली भैरव मचिमह्रः जात्रा यही असोज १४ गते मनाउने भएको छ।भने जात्राका लागि आज पचली भैरवलाई श्रृंगारीदै लगेको छ ।दशैंकै बेला काठमाडौंको तल्लो भेग टेकू–लगन क्षेत्रमा मनाइने पचली भैरव जात्राको लागि त्यप आजु(पचली भैरवको प्रतीक तामाको घ्याम्पो) को श्रृंगार शुरु भएको हो।
त्यप आजुको घ्याम्पो गत वर्षदेखि लगनको नाय्पाचो टोलनिवासी एक गुठियारको घरमा राखिएका छन्। भने जात्रा जुन गुठियारको पालोमा पर्छ यो घ्याम्पो त्यही गुठियारको घरमा राख्ने चलन रहिआएको छ।
घटस्थापनाको दिन पालो परेका गुठियारको घरबाट निकाली घ्याम्पोलाई खटमा राखेर कोहिटी टोलस्थित चित्रकारको घरमा लगिएका छन्। चित्रकारको घरमा घ्याम्पोको मर्मत सम्भार लगायत आवश्यक रंगरोगनको काम गरिछ। कामलाई ‘लम्पुं छायेगु’ भनिन्छ । यो काम नेवाः समुदायको पुं जातिले नै गर्नुपर्दछ ।
पुंबाट आवश्यक श्रृंगारको कार्य सकिएपछि त्यप आजुको उक्त घ्याम्पोलाई भिमसेनथान निवासी ‘थकू जुजु’ को घरमा लान्छ। मल्लकालमा उक्त क्षेत्रको प्रशासन हेर्न राज्यले नियुक्त गरेका स्थानीय प्रशासकलाई ‘थकू जुजु’ भन्छन्।
चौथीका दिन थकू जुजुको घरमा लगी घ्याम्पोलाई आवश्यक आभूषण र पुष्प आदिले श्रृंगारीएपछि त्यही दिन त्यप आजुको घ्याम्पोलाई पचलीको पीठमा लगेर राखिन्छ। यसलाई ‘द्यः गमय् तयेगु’ भनिन्छ । त्यहाँ रातभरि राखेर होम गरि उक्त होममा बलि सहित पूजाआजा गर्छ।
त्यसपछि भोलिपल्ट दिनभरि त्यप आजुलाई स्थानीयवासीको पूजाआजाका लागि खुल्ला गरि दिनभरि राखिसकेपछि राति पचली भैरवको मुख्य जात्रा शुरु हुन्छ र जात्रालाई स्थानीय नेपालभाषामा ‘पचिमह्रः’ भने गरिन्छ।
जात्रा काठमाडौंको तल्लो भेगमा रहेको टेकूस्थित पचली भैरवथानदेखि शुरु भई लगन टोल, जैसी देवल, कोहिटी, हिउमत, वन्दे, भिमसेनथान हुँदै हनुमानढोका दरवार क्षेत्रसम्म त्यप आजुलाई बोकेर परिक्रमा गराइन्छ। जात्रा हुँदा बाजागाजा सहित राज्यका तर्फबाट गुर्जुको पल्टन पनि सहभागी हुने हुन्छ।हनुमानढोका पुगेपछि त्यप आजुको घ्याम्पो फेरि फर्काइ ल्याएपछि त्यप आजुलाई अर्को वर्षको लागि पालो थापेका अर्का गुठियारको घरमा लगेर राख्ने छन्। राखिएको त्यप आजुको घ्याम्पो अर्को वर्षको घटस्थापनासम्म त्यहीं रहने गर्छ। पचली भैरवको जात्रा मूलतः तान्त्रिक विधिले पूजा गरिएको जाँडले भरिएको त्यप (घ्याम्पो) को जात्रा हो । उक्त घ्याम्पोलाई नै ‘त्यप आजु’ भनिने गरिन्छ।
पहिले यो जात्रा मध्य राति सञ्चालन गर्ने चलन थियो । भने हाल व्यावहारिकता र सुरक्षा व्यवस्थालाई समेत ध्यानमा राखी साँझ नै जात्रा चलाउन लागिएका हुन् ।
दश दिनसम्म मनाइने दशैं पर्वको मुख्य दिन दशमीलाई लिइन्छ। काठमाडौंको तल्लो भेगमा यही पचली भैरवको जात्रा मनाइने पञ्चमीलाई दशैंको प्रमुख दिनका रुपमा मनाउदै यो वर्षको मचिमह्रः जात्रा यही असोज १४ गते मनाउने भएको छ।