टाेखालाइभ डट कम/ असोज ९,२०७९
विश्व पर्यटन दिवसको अवसरमा ललितपुरमा बृहत सांस्कृतिक मेला ललित कार्निभलको आयोजना गरिने भएको छ। ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न संघसंस्थाको सहआयोजनामा हुने सांस्कृतिक मेला आउदो ११ गते पाटन दरबार क्षेत्र, मंगलबजारमा हुन लागेको हो।
सांस्कृतिक मेलामा ५०० जना भन्दा धेरै कलाकारहरुले परम्परागत संगित तथा नृत्यको प्रस्तुति गरिने मेलाका आन्तरिक संयोजक मोहन व्यजनकारले बताउनु भयो। यसको लागि ज्यापू समाज यल, बौद्ध विहार संघ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरले ३ महिना अघिदेखि नै सयौं कलाकारहरूलाई नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजाको प्रशिक्षण दिइरहेको छ।
त्यस्तै विश्व पर्यटन दिवस लक्षित मेलाका लागि ललितपुरका सामुदायिक विद्यालयका विद्यार्थी, कलाकारहरूलाई परम्परागत नृत्यको पनि प्रशिक्षण दिइरहेको छ। त्यस्तै पाटन म्यूजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाँउको लोपेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिने व्यजनकारले बताउनु भयो ।
मंगलबार विहान पर्यटकहरूलाई स्वागत गरेर शुरू हुने सांस्कृतिक मेलामा ललितपुर महानगरपालिकाको पयर्टनसँग सम्वन्धित वेवसाइटको लोकार्पण, सम्पदा पदयात्रा लगायतको पनि कार्यक्रम रहेको मेलाका संयोजक एवमं वडा नम्बर १९ का अध्यक्ष राजेन्द्र महर्जनले बताउनु भयो । पर्यटनलाई पुनः विचार गरौ भन्ने मूल नारासहित नेपालसहित विश्वभर पर्यटन दिवस मंगलबार मनाइदैछ।





