• TOKHA LIVE

    • ३१ भाद्र २०७९, शुक्रबार ०७:४४

    अब टुकुचा लुकेर होइन खुलेर बग्छ

    टाेखालाइभ डट कम/ भदौ ३१,२०७९

    काठमाडौं । काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल बन्द भएको दुई वर्षभन्दा बढी भइसक्यो। तर बिहीबार यहाँको माहोल भने कुनै सुपरहिट सिनेमाको आगमनभन्दा कम थिएन। काठमाडौं महानगरपालिकाको टोलीले हल ‘कम्पाउन्ड’ भित्रै डोजर चलाउँदा वर्षौंदेखि लुकेको टुकुचा पहिलो पटक ‘प्रदर्शित’ भएको छ।

    ‘पचासौं वर्षदेखि पुरिएको टुकुचा खोलाको उत्खनन गर्न सफल भएका छौं,’ काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने, ‘अब टुकुचा लुकेर होइन खुलेर बग्नेछ।’ झन्डै एक घन्टा लगाएर १५ फिटको हाराहारीमा खनेपछि दक्षिणबाट उत्तरतर्फ बग्दै गरेको टुकुचा खोला फेला परेको पाण्डेले जानकारी दिए।

    प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो।

    हलभित्र डोजर चलेसँगै वरपरका छिमेकी र सर्वसाधारणको बाक्लो भिडले हल ‘हाउसफुल’ बनेको थियो। चलिरहेको डोजर कतिपयले ‘नायक’जस्तै ठानेर रमाउँदै हेरिरहेका थिए भने पीडितका लागि यही डोजर कुनै ‘खलनायक’भन्दा कम्ता थिएन। ‘अहिलेसम्म मेरो घरजग्गामा खोला पर्छ भन्ने पक्का भएको छैन,’ जय नेपाल हलभन्दा केही परका योगेश मिश्रले भने, ‘कतै भेटियो भने अनाहकमा हामी पीडित बन्नेछौं ।’ वर्षौंदेखि भोगचलन गरेको ठाउँमा एक्कासि उत्खनन गर्दा आफूहरू समस्यामा पर्ने उनले सुनाए।

    तर,महानगरले साउन १२ गते नै सार्वजनिक सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि गायब भएको र अतिक्रमित क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको महानगरले जनाएको छ। बुढानीलकण्ठदेखि बग्दै आएको टुकुचा खोला थापाथलीनजिक वाग्मती नदीमा गएर मिसिन्छ। मध्य सहरी क्षेत्रमा टुकुचाको दोहन सुरु हुन्छ। प्रधानमन्त्री निवासनजिकैको बालुवाटार क्षेत्रदेखि कमलादीसम्म टुकुचा खोला मिच्ने र छोप्ने काम धेरै भएको छ।

    नारायणहिटी दरबारको उत्तरगेटमा रहेको बाँसझ्याङबाट छिरेको टुकुचा खोला दरबारभित्र पनि खुला रूपले बगिरहेको छ। तर दरबारको दक्षिण गेटको सेन्ट्री पोस्टबाट निकास लिएको टुकुचा त्यसपछि भने कमलादीमा मात्रै भेटिन्छ। दरबारबाट बाहिर निस्केको टुकुचा जय नेपाल हलको ठिक मुनिबाट, गल्फ ट्राभलछेउ हुँदै लक्ष्मी बैंक, शाखा हाउस, सिद्धार्थ बैंक रहेको भवन आदिबाट भूमिगत रूपमा बगेको स्थानीय बताउँछन्। आजको नागरिक दैनिकमा खबर छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    कलाकार लम्सालमाथि अनुसन्धान जारी’

    फुसिंख्यः मनमयजु अजिमा जात्रा सम्पन्न

    छुटाउनुभयो कि? सबै