टोखा लाइभ । २०७९ भाद्र २४ गते।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइयो।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा लगायत मन्त्रीहरु पनि हनुमानढोका पसगेका थिए । जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो । विदेशी पर्यटकसमेत जात्राको उत्सकुकतापूर्व अवलोकन गरिरहेका देखिन्थे ।
जात्रामा स्थानिय, सर्बसधारण, पर्यटक लगायतको बाक्लो उपस्थिती रहेको थिए । नेपाल प्रहरीको ९ सय सुरक्षाकर्मी परिचालित गरिएको जानकारी हनुमानढोका प्रहरी प्रभागले जनाएको छ। त्यस्तै केन्द्रिय मानन्धर संघको प्रतिनिधी कृष्णमोहन मानन्धरका अनुसार, स्थानिय विभिन्न गुठी संस्थान र क्लबहरुको १ हजार २ सय स्वयमसेवकहरु परिचालन गरिएको छ। कडा सुरक्षामा इन्द्रजात्रामा रथ घुमाइ नगर परिक्रमा भएको उनले बताए। यसै अवसरमा वर्षभरिमा दिवंगत भएको परिवारले वसन्पुर क्षेत्रका सडकमा दीप प्रज्वलन गरी चीर आत्मालाई शान्तिको कामना समेत गरिने परम्परा रहेको छ।

