टाेखालाइभ डट कम/ श्रावण २५,२०७९
काठमाडौं । कलाकार तथा कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित ‘लोककलाकार जीवनी’ को मंगलबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा प्रतिष्ठान कुलपति केके कर्माचार्यले बिमोचन गर्नुभएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानको लोककला विभागले प्रकाशन गरेको उक्त पुस्तकमा नेपालमा प्रचलित विभिन्न लोककलामा काम गर्ने एक दर्जन बढी कलाकारको जीवनी प्रकाशित गरिएको छ ।

सो कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कर्माचार्यले पुस्तकले नेपालका लोककलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले लोककला र कलाकारको जीवनयात्रालाई चर्चा गरिएको पुस्तकले नेपाली कलाको बहुआयामिकतालाई प्रकाश पारेको भनाइ राख्दै उनले देशभर हरेक स्थान र जाति विशेषमा रहेका लोककलाका बारेमा सानो पुस्तकले समेट्न नसके पनि आगामी दिनमा प्रतिष्ठान एवं अन्य लेखकले पनि लोककला र कलाकारका बारेमा अझै व्यापक ढंगले लेख्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।

राजनीतिज्ञ एवं भाषाविद् डा. गोपाल ठाकुरले कलाले समाजलाई सभ्य र पहिचान दिलाउन कला र संस्कृतिले भूमिका खेल्ने भएकाले राज्यले यसको महत्वलाई बुझेर जनस्तरमा विकास भएका कलाको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियकरण गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिदै कलाकार राष्ट्रका सम्पदा भएकाले उनले कलाकारको उचित ढंगले राज्यले सम्मान गर्नुपर्नेमा विचार व्यक्त गरे । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले नेपाली लोककला क्षेत्रमा विशिष्ट कलाकार धेरै भए पनि एउटा पुस्तकमा सबैलाई स्थान दिन नसकिएको बताउदै लोककलाकारका बारेमा पुस्तक पहिलो पटक लेखिएको र अन्य शृंखला पनि भाग १–२ गर्दै लेख्दै जानुपर्ने सुझाव दिए ।

त्यसैगरी पुस्तकका लेखक देवेन्द्र थुम्केलीद्वारा लिखित पुस्तकमा नेवार, अवधी, मिथिला, थारू र राजवंशी लोककलामा काम गर्ने कलाकारका बारेमा लेखिएको बताए । पुस्तकका लेखका लेखक देवेन्द्र थुम्केलीले आगामी संस्करणमा लोककलाकारका बारेमा कलम चलाउने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका प्राज्ञ रमेशनाथ खनालले पुस्तक सानै भए पनि महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रतिष्ठानले अझै गम्भीर ढंगले कलाक्षेत्रका विविध आयामलाई खोज अनुसन्धान गर्दै प्रकाशन गर्ने भनाइ राखे ।

पुस्तकले नेपाली लोककला र कलाकारलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको बताए । प्राज्ञ सञ्जय वान्तवाले लोककलालाई मूलधारमा ल्याइ यसको महत्व र पहिचानलाई बचाउन खोज अनुसन्धान तथा प्रकाशन लगायतका विविध कार्यक्रममार्फत काम गर्नुपर्ने भनाइ राख्दै लोककलाको विकासमा सबै क्षेत्रले विशेष ध्यान दिनुपर्ने बताए। प्रतिष्ठानको लोककला विभाग प्रमुख मिथिलादेवी यादवले सीमित स्रोत र साधनका कारण यस पुस्तकमा लोककलाबारे सानो अंशमात्र लेख्न सफल भएको बताइन् । उनले लोककला मानव जीवनको लामो परम्परालाई जोडेको विचार व्यक्त गरिन् ।लोककलाको वैभवको प्रवद्र्धनका लागि हरेक समुदायमा अभ्यास भइरहेको लोककलाको बारेमा पुस्तक लेख्न जरुरी रहेको बताइन् । पुस्तकमा १३ जीवनी सहित कलाकृतिको चर्चा गरिएको छ ।

