टोखा लाइभ ।२०७९ साउन १९ गते ।
काठमाण्डौ/टोखामा फेरि अर्को भयानक सवारी दुर्घटना भएको छ।गत आइतबार टोखा नगरपालिका वडा ३ स्थित झुडाेलमा स्कुटर र मोटरसाइकल एकापसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक तार्केश्वर नगरपालिका मनमैजु बस्ने २६ वर्षीय रोजिना महर्जनको मृत्यु भएको घटना सेलाउन नपाउदै फेरि अर्को दु:खद घटना घटेको छ।
टोखा नगरपालिका- २ गले पाचा (टोखा चण्डेश्वरी अस्पतालको ओरालो) मा कारको ठक्करबाट तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
बिहिवार दिउँसो करिव २ बजेतीर झोरबाट अनियन्त्रित तीव्र गतीमा टोखा आउँदै गरेको प्रदेश ३-०१-०२३ प ७२८० नम्वरको रातो कारको ठक्करले बा ९८ प ८०८ को स्कुटर, बा ५६ प ९५३३ को स्कुटर र बा ५ प ६९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी प्रभाग टोखाका वरिस्ठ प्रहरी नायव निरीक्षक जय बहादुर सिंले बताए ।
दुर्घटनामा परी बा ९८ प ८०८ को नम्वरका स्कुटर चालक टोखा नगरपालिका-३ का २० वर्षीया रामचन्द श्रेष्ठ पछाडि सवार २४ वर्षीया दिदी आस्मा श्रेष्ठ, बा ५६ प ९५३३ नम्बरको स्कुटरमा सवार धाडिङ धाक्रेका २७ वर्षीय रविन वैजु घाइते भएका छन् । घाइते भएका रामचन्द्रको हात भाँचिएको छ भने उनकी दिदी आस्मालाई शरीरमा चोट लागेको छ । त्यस्तै रविन वैजुको अवस्था गम्भीर रहेको र उनीहरुको ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
यता बा ५६ प ९५३३ नम्बरको स्कुटरका चालक उमेश हमाल र बा ५ प ६९५८ नम्बरको मोटरसाइकल चालक विक्रम शाह भने सकुशल गरेको प्रहरीले जनाएको छ।
कारका चालक कौशलटार घरभई हाल ग्राण्डी अस्पतालमा कार्यारत सुमि मल्ल रहेको प्रहरीले जनाएको छ ।
घटना स्थल टोखा चण्डेश्वरी अस्पताल परिसर नजिक भएकोले तत्काल अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनका साथै अस्पतालमा कार्यरत डक्टर, नर्स तथा कर्मचारीहरुले घाईतेहरूलाई घटनास्थलबाट उद्वार गरी अस्पताल लगेर प्राथमिक उपचार गरेका थिए ।यस बारेमा थप अनुसन्धान भइरहेको छ ।

