टाेखालाइभ डट कम / असार ३२
काठमाडौँ महानगरपालिकाले श्रावण १ गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । काठमाडौँ नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । कुहिने र नकुहिने फोहर सङ्कलनका लागि काठमाडौं महानगर वासी चाहार्दै हिड्ेका मेयर बस्लेन शाहले सर्वसाधारणलाई जनचेतना जगाउदै सामाजिक संजालमा यसरी पोख्छन् ।
“भोलि अर्थात साउन १ गतेबाट हामीले फोहोरको सम्बन्धमा केहि फरक सुरुवात गर्दैछौँ । भोलिबाट कुहिने र नकुहिने अलग अलग प्रकृतिका फोहोरहरु उठाउनका लागि बेग्ला बेग्लै दिन फोहोर संकलन गर्ने गाडीहरु आउँने छन् । यो गाह्रो कुरा पनि होइन । यसका लागि कुहिने र नकुहिनेलाई एकै ठाउँमा नमिसाइदिए पुग्छ । फोहोर छुट्याउने सोचाइले पनि यसलाई अतिरिक्त काम जस्तो अनुभूति गराइरहेको छ । वास्तवमा एकछिनको सजिलोको लागि कुहिने र नकुहिने फोहोरलाई हामीले मिसाइरहेका छौँ । र, त्यसले फोहोरको व्यवस्थापनमा सबै भन्दा असहज अवस्था बनाइरहेको छ । हामीले उत्पादन गरेको फोहोरको कारण मानिसहरु रोगी र लगभग नारकिय जीवन भोगिरहेका छन् ।
यसलाई रोक्ने जिम्मेवारी तपाई हाम्रै हो । अबदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाडोमा संकलन गरिदिनुहोला । तालिका अनुसार आएका फोहोर संकलन गर्ने गाडीहरुमा सोही अनुसार फोहोर दिनुहोला । हामीले फोहोर संकलन गर्ने तालिकालाई क्रमश: थप सहज र वैज्ञानिक बनाउँदै जानेछौँ । हामीलाई यो पनि थाहा छ कि एउटा मात्रै कोठामा परिवार नै बसेर जीवन गुजारा गरिरहेकाहरुलाई बेग्ला बेग्लै फोहोर संकलन गर्ने ठाउँ अभाव हुन्छ । तर तत्कालका लागि तपाईहरुको जस्तै महानगरको पनि सिमितता छन् । विस्तारै ति कुराहरुमा पनि सहजताका लागि महानगरले प्रयास गर्नेछ । अहिले जे जति स्रोत र साधनहरु छन्, ति सबैको अधिकतम प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्न पहल गरौँ ।”

