टाेखालाइभ डट कम/असार २७
काठमाडौं/प्रतिनिधिसभाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतले पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकले सो विधेयक पारित गरेको हो। उक्त विधेयकले काठमाडौँ उपत्यका ( काठमाडौँ ललितपुर र भक्तपुर) को सुरक्षा व्यवस्था केन्द्र मातहत राख्ने र यसको जिम्मेवारी नेपाल प्रहरीमा रहने व्यवस्था गरेको छ।
तर, नेपाल प्रहरीले प्रदेश प्रहरीको समन्वयमा काम गर्नुपर्ने भनिएको छ। सरकारले ल्याएको विधेयकमा सुरुमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा नेपाल प्रहरीकै मातहत रहने व्यवस्था थियो । यसमा प्रतिनिधिसभाले ‘कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ’ भन्ने वाक्यांश थपिएको छ । तर, काठमाडौं उपत्यकाको सुरक्षा अहिले पनि नेपाल प्रहरीले नै हेर्दै आएको छ।
पूर्ववर्ती सरकारले उपत्यकाको सुरक्षा केन्द्र मातहत रहने गरी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेशलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । जसलाई प्रतिनिधिसभाको बैठकले पारित गरेको हो। पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ। राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ। राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउँछ।

