टाेखालाइभ डट कम/
असार ६, २०७९, सोमबार
आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरले कुहिने फोहोरलाई घरमै मल बनाउन लगाउने र फोहोरमा लाग्ने शुल्कमा सहुलियत दिने घोषणा गरेको हो । प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापनका लागि छुट्टै परियोजना सञ्चालन गर्ने महानगर प्रमुख बालेन्द्र साहले बताए ।महानगरले चालिस माइक्रोन भन्दा कमको प्लास्टिक झोला निषेध गरेर जुट, कपडा वा कागजको झोला प्रयोग गर्ने घोषणा पनि गरेको छ ।
स्तै निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने भएको छ । महानगरको शिक्षा कोषमा आम्दानीको केही प्रतिशत रकम विद्यालयहरुले हाल्नुपर्ने गरी नीति तथा कार्यक्रम ल्याइएको हो ।
सामुदायिक विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ । कक्षा एक देखि आठसम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिने पनि महानगरले जनाएको छ ।
महानगरले महानगरभित्र सञ्चालन हुने सबै सार्वजनिक यातायातलाई एकद्वार प्रणालीमा सञ्चालन गर्ने घोषणा गरेको छ । महानगरले सबै कम्पनीहरुसँग सहकार्य गरेर यातायात एकद्वार प्रणालीमा सञ्चालन गर्ने जनाएको हो ।
महानगरले स्थानीय नेवार समुदायले उत्पादन गर्ने स्थानीय पेय पदार्थ ‘अइला’ ब्रान्डिङ गर्ने घोषणा पनि गरेको छ । महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने नीति पनि सार्वजनिक गरिएको छ ।
महानगरले प्रत्येक साताको आइतबार जनतासँग प्रत्यक्ष मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपत्यकाका विभिन्न जात्रा र पर्वलाई अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्ने लक्ष्य पनि महानगरले लिएको छ ।बागदरबारको प्रवलीकरण गर्नेदेखि घरले नओगटेको क्षेत्रमा एक घर एक रुख अभियान सञ्चालन गर्ने घोषणा पनि महानगरले गरेको छ ।मध्यान्ह दैनिकबाट

