• TOKHA LIVE

    • ४ असार २०७९, शनिबार १०:०३

    फिफा विश्वकप फुटबल २०२२ कतार: ३२ राष्ट्रका आठ समूह, यस्तो छ पहिलो चरणको लीग खेलका तालिका र समय

    असार ४,२०७९

    तस्बिर स्रोत,PA MEDIA

    सन् २०२२ को नोभेम्बर २१ तारिखबाट डिसेम्बर १८ सम्म फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ।

    कतारमा हुने प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा आठ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिस्पर्धा गर्नेछन्।

    खेलको तालिका, खेलस्थल र समय पनि सार्वजनिक भइसकेको छ।

    विश्वकप फुटबल मध्यपूर्वमा र यो समयमा हुन लागेको पहिलो पटक हो।

    कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुँदैछ।

    सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो।

    उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो।

    कतार विश्वकप

    तस्बिर स्रोत,REUTERS

    कुन-कुन देशले विश्वकप फुटबल खेल्दैछन्?

    विश्वकप फुटबल २०२२ का लागि छनोट चरणका खेलहरू तीन वर्षअघि नै सुरु भएको थियो।

    समूहगत खेलहरूमा विभिन्न देशका टोलीहरूबीच प्रतिस्पर्धा भयो र बढी अङ्क ल्याउने बलिया टोलीहरू सहभागी हुने सूचीमा समावेश भए।

    समान अङ्क ल्याउने टोलीहरूबीच ‘प्ले-अफ’ खेल भयो।

    सन् २०१८ को विश्वकप विजेता फ्रान्स प्रतियोगितामा सहभागी हुनेछ तर युरोपियन च्याम्पियन इटली विश्वकपमा छनौट हुन असफल रहेको छ।

    समूह ए

     कतार
     एक्वडोर
     सेनिगल
     द नेदरल्यान्ड्स

    समूह बी

     इङ्ग्ल्यान्ड
     इरान
     अमेरिका
     वेल्स

    समूह सी

     आर्जेन्टिना
     साउदी अरब
     मेक्सिको
     पोल्यान्ड

    समूह डी

     फ्रान्स
     अस्ट्रेलिया
     डेनमार्क
     ट्यूनिशिया

    समूह ई

     स्पेन
     कोस्टारिका
     जर्मनी
     जापान

    समूह एफ

     बेल्जियम
     क्यानडा
     मोरक्को
     क्रोएशिया

    समूह जी

     ब्रजिल
     सर्बिया
     स्विट्जरल्यान्ड
     क्यामरून

    समूह एच

     पोर्चुगल
     घाना
     युरुग्वे
     दक्षिण कोरिया

    प्रतिस्पर्धाका लागि ३२ टोली छानिएका छन्। लीग खेल प्रत्येक समूहका चारचार टोलीबीच हुनेछ।

    विश्वकपमा सहभागी हुने ३२ राष्ट्रमा युरोपका १३ देश छन्।

    चार पटक विश्व विजेता जर्मनी, दुई पटक विश्व विजेता फ्रान्स, एक पटक विश्व विजेता स्पेन र इङ्ग्ल्यान्डसहित डेनमार्क, बेल्जियम, क्रोएशिया, सर्बिया, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स कतारमा खेल्नेछन्।

    एशियाबाट छ देश विश्वकप खेल्नका लागि छनोट भएका छन् जसमा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इरान, साउदी अरब र कतार छन्।

    खेलस्थल

    तस्बिर स्रोत,REUTERS

    अफ्रिकाबाट घाना, सेनिगल, ट्यूनिशिया, मोरक्को र क्यामरून सहभागी छन्।

    त्यस्तै दक्षिण र उत्तर अमेरिकाबाट समान चार टोलीले कतारमा हुने विश्वकप खेल्ने छन्।

    दक्षिण अमेरिकाबाट हालसम्म सबैभन्दा बढी पटक विश्वकप उचालेको ब्रजिल, दुई पटकको विश्व विजेता आर्जेन्टिना र युरुग्वे अनि इक्वेडर प्रतिष्पर्धामा उत्रिदै छन्।

    उत्तर अमेरिकाबाट भने क्यानडा, मेक्सिको, अमेरिका र कोस्टारिका छन्।

    पहिलो चरणका लीग खेलका तालिका यस्तो छ:

    कसले जित्ला विश्वकप फुटबल?

    फाइनल खेल जित्ने प्रत्यासी टोलीका रूपमा ब्रजिल, इङ्ग्ल्यान्ड, फ्रान्स र स्पेनलाई हेरिएको छ।

    प्रतियोगिता आयोजक समितिका अनुसार करिब १५ लाख मानिस खेल हेर्न उपस्थित हुने अनुमान गरिएको छ।

    विश्वकप २०२२ को आधिकारिक गीत कुन हो?

    गोल डटकमका अनुसार पहिलो पटक सन् १९६२ मा विश्वकपको आधिकारिक गीत तयार पारिएको थियो।

    त्यसयता विश्वकपका सबै संस्करणमा फरकफरक आधिकारिक गीत तयार पार्ने गरिएको छ।

    सन् १९९८ को विश्वकपका लागि गायक रिकी मार्टीनले तयार पारेको कप अफ द लाइफ बोलको गीत र सन् २०१० मा शकिराको वाका वाका बोलको गीत अनि के नानले तयार पारेको वेभिङ फ्ल्याग बोलको गीत निकै प्रख्यात भएका थिए।

    यसपालिको विश्वकपको आधिकारिक गीत हय्या हय्याा अर्थात् बेटर टुगेदर हो।

    यो गीत ट्रिनिडो कार्डोना, डेभिडो र आएशाले तयार पारेका हुन्।

    कतार विश्वकप

    तस्बिर स्रोत,REUTERS

    अहिलेसम्म क-कसले विश्वकप जिते?

    • ब्रजिल: पाँच पटक (सन् १९५८, १९६२, १९७०, १९९४, २००२)
    • जर्मनी: चार पटक (सन् १९५४, १९७४, १९९०, २०१४)
    • इटली: चार पटक (सन् १९३४, १९३८, १९८२, २००६)
    • आर्जेन्टिना: दुई पटक (सन् १९७८, १९८६)
    • फ्रान्स: दुई पटक (सन् १९९८, २०१८)
    • उरुग्वे: दुई पटक (सन् १९३०, १९५०)
    • स्पेन: एक पटक (सन् २०१०)
    • इङ्गल्यान्ड: एक पटक (सन् १९६६)

    सबैभन्दा धेरै फाइनल खेल्ने राष्ट्र जर्मनी हो जसले आठ पटक फाइनल खेलेको छ भने ब्रजिलले सात पटक फाइनल खेलेको छ।

    इटलीले छ पटक र आर्जेन्टिनाले पाँच पटक फाइनल खेलेका छन्।

    फाइनलमा पुगे पनि विश्व विजेता बन्न असफल देशहरू नेदरल्यान्ड्स (तीन पटक), चेकोस्लोभाकिया र हङ्गेरी (दुई-दुई पटक) र स्वीडन र क्रोयशिया (एक-एक पटक) रहेका छन्।स्रोत/बिबिसी bbc.com

    Facebook Comments

    छुटाउनुभयो कि? सबै