• TOKHA LIVE

    • १ असार २०७९, बुधबार ०६:५६

    आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको पहिलो जित

    टाेखालाइभ डठ कम/असार १, २०७९

    एजेन्सी ।अमेरिकामा चलिरहेको त्रिकोणात्मक ओडिआई आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले पहिलो जित हात पारेको छ ।

    ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा गएराति भएको खेलमा नेपालले ओमानमाथि ७ विकेटले जित निकालेको हो । तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले पहिलो जित हात पारी अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।

    टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा एक सय ६३ रन जोड्दै अल आउट भयो । एक सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । खेलमा नेपालको लागि आसिफ शेखले ८६ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । ओमानका कप्तान जिशान मकसुदले एक सय बलमा तीन चौकासहित सर्वाधिक ५२ रन बनाए ।

    कुशल भुर्तेल ७५ बलमा पाँच चौकासहित ५६ रनमा क्याच आउट भए । नेपालका दुवै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । ओमानका फैज बटले दुई र खवर अलीले एक विकेट लिए ।

    नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत बिहीबार ओमानविरुद्ध नै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।

    सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले १/१ विकेट लिए । ओमानको विश्वकप लिग २ मा सम्पूर्ण ३६ खेल सकिएको छ । नेपालले अब आज राती घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

    ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । नेपाल १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ ।

    नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै