• TOKHA LIVE

    • २९ चैत्र २०७८, मंगलवार २१:२३

    प्रस्तर कलामा आवद्ध व्यवसायीहरुका समस्या न्यूनीकरणमा कलाकर्मीको जोडदार माग

     

    टाेखालाइभ, चैत्र २९, २०७८

    ललितपुर । प्रस्तर कलामा आवद्ध व्यवसायीहरुका समस्या न्यूनीकरणमा सामुहिक पहलको आवश्यकता महसुस गरी स्टोन क्राफ्ट एसोसिएसन अफ नेपाल स्थापना भएको छ । भर्खर स्थापित उक्त संस्थाले शनिवार एक अन्तरक्रियामूलक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रियामा व्यवसायलाई अझ व्यवस्थित गर्न राज्यको सहयोग आवश्यक रहेको व्यवसायीहरुको धारणा छ ।

    माननीय ऊर्जा मन्त्री पम्फा भुसालले आफू सदैव व्यवसायीहरुको साथमै रहने र नीतिगत सुधार मार्फत दीर्घकालिन समाधानमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । कला संरक्षण राज्यको समेत दायित्व भएको बताउँदै आफूहरुको समृद्धिको उद्देश्य पूरा गर्न निजी क्षेत्रसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण रहने बताउनुभयो । साथै नवगठिन कार्यसमितिलाई सफलताको कामना समेत गर्नुभएको छ ।

    कार्यक्रमका अतिथि डा. यम प्रसाद शर्माले हाम्रो संस्कृति र सभ्यता नै कला भएकोले हाम्रो मौलिकता जोगाउन र विश्व माझ हाम्रो छवि कायम राखिरहन कला संरक्षण अपरिहार्य रहेको बताउनुभयो ।

    शनिवारको कार्यक्रममा हस्तकला महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्य, उपाध्यक्षहरु नवीन शाक्य, विकास शाक्य लगायतको समेत उपस्थिति थियो ।
    स्टोन कार्भिङ अर्थात प्रस्तर कलामा आवद्ध व्यवसायीहरुको संस्था स्टोन क्राफ्ट एसोसिएसन अफ नेपालको कार्यसमिति ९ सदस्यीय कार्य समिति समेत गठन गरिएको छ । नवगठित उक्त कार्यसमितिको अध्यक्षमा चन्द्रश्याम डंगोल, उपाध्यक्षमा जित बहादुर तामाङ, सचिवमा रुपेश बज्राचार्य र कोषाध्यक्षमा सागर परियार रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा काजिमान तामाङ, जेन महर्जन, शंकर परियार, अनिल महर्जन र शुभ रत्न बज्राचार्य रहेका छन् ।

    नेपाल हस्तकला महासंघका उपाध्यक्ष अमृत खड्काले नेपालमा उत्पादित सामान सिधै बाहिर निर्यात गर्नको लागि पेमेन्ट गेटवे ठूलो समस्याको रुपमा रहेको बताइदै नेपालमा पे–पल भित्र्याउन सके अन्तर्राष्ट्रिय व्यापारमा रहेका समस्याहरु धेरै हद सम्म कम गर्न सकिने उहाँको विश्वास छ ।

    कार्यक्रमका सभापति चन्द्रश्याम डङ्गोलले पछिल्लो समय मौलिक कलाको महत्व प्रति निजी क्षेत्र जागरुक बन्दै गएको बताउँदै राज्य पक्षले पनि आफ्नो बुझाईलाई व्यापक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । संघ स्थापनाको उद्देश्य सबै प्रस्तर कलाकर्मीलाई एक ठाउँमा जोड्ने रहेको र सामुहिक बलबाट नै हरेक समस्या सामना गर्न सहज हुनेमा आफू विस्वस्त रहेको उहाँले बताउनुभयो । संघको दायरा उपत्यका बाहिरका इटहरी, धरान, इलाम, बुटबल लगायतमा समेत विस्तार गर्ने आफ्नो योजना रहेको डंगोल बताउनुहुन्छ ।

    कार्यक्रममा अन्य वक्ताहरु पत्रकार देवेन्द्र थुङ्केली, ढुङ्गा व्यवसायी वोधिरत्न शाक्य लगायतले प्रस्तल कला सम्बन्धी ज्ञान र इतिहास शैक्षिक पाठ्यक्रममा नै समेट्नको लागि पहल गर्नुपर्ने बताउनुभयो ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै