टाेखालाइभ डट कम/ फागुन १७,२०७८
काठमाडौं /नेकपा एमालेले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्नु गलत भएको जनाएको छ।
अन्तर्राष्ट्रिय कानुनले नचिनेको व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहने एमालेको दाबी छ।
एमाले उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा जबर्जस्ती पारित गर्नु गलत भएको बताएका छन् ।
एमालेले विगत ६ महिनादेखि १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने मागसहित संसद् अबरोध गरिरहेको छ। उसले पछिल्लो समयमा सूचना टाँस नभएको भन्दै सभामुखको पनि राजीनामा माग गरिरहेको छ।
‘अन्तर्राष्ट्रिय कानुनले यो व्याख्यात्मक टिप्पणी चिन्दैन। यसरी पारित गर्नु भनेको लाज पचाउनु र सत्ता मोह मात्रै हो,’ उनले भने, ‘नहुनुपर्ने भयो।’ उनले नेपाल जस्तो जिम्मेवार मुलुकले यो कसरी गर्यो भन्ने कुरा आएमा यसको जिम्मेवारी, जवाफदेही को हुने भन्दै अध्यक्ष नेम्बाङले
प्रश्न गरेका थिए ।
‘एमसीसी दुई पक्षीय सम्झौता हो। जुन अनुमोदन गरियो भनिएको छ, तर दुईपक्षीय सम्झौतामा आरक्षण हुँदैन, व्याख्यात्मक टिप्पणीको नाममा जे गरियो त्यो गलत हो,’
उनले भने। प्रमुख प्रतिपक्ष दलसँग छलफल र सल्लाह नै नगरी एकतर्फी रूपमा व्याख्यात्मक टिप्पणी गरिएको उनले बताए। संसद्मा बोल्ने अधिकांश सांसदले पनि यो स्थितिमा जबर्जस्ती गर्न नहुनेमा ध्यानाकर्षण गराएको उनले बताए।
एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भइसकेको छ ।
एमसीसी पारितबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै
अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

