नविना श्रेष्ठ
टाेखालाइभ/मंसिर ७,२०७८
ए डिभिजन लिगमा मछिन्द्र क्लबले न्युरोड टिम (एन आरटी) लाई २-१ ले पराजित गरेको छ। फरवार्ड सुनिल बलको दुई गोल मद्दतमा अघिल्लो सिजनको लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार जारी खेलमा सुनिल बलको गोलबाट मच्छिन्द्रले खेलको १२औं मिनेटमा अग्रता लिएको थियो।
राष्ट्रिय टोलीका स्टारले भरिएको टोली मच्छिन्द्रको जितमा यसैपालि क्लवमा भित्रिएका विङ्गर सुनिल बलले दुई गोल गरेको हो।
२२औं मिनेटमा सुनिल बलको प्रहारलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले पञ्च गर्दै बचाए ।

५२औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई शिव गुरुङले हेडर प्रयास गरेपनि भेट्न नसक्दा एनआरटी बराबरीबाट चुक्यो । ५४औं मिनेटमा एरिक विष्टले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए ।
८०औं मिनेटमा सुनिल बलले गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए । सुनिलले कप्तान सुजल श्रेष्ठको क्रसमा कसैको निगरानीमा नरहेका सुनिलले सहजै गोल गरेका थिए । जितसँगै मच्छिन्द्रले ३ अंक जोडेको छ । मछिन्द्रले सोमबार न्यूरोड टिम (एनआरटी)सँग यो जित निकाल्दै लिगको उपाधि रक्षा अभियान सुरु गरेको छ।

मछिन्द्रले यस अघि अधिंकाश पुरानै खेलाडीसँग सम्झौता नवीकरण गर्दा मनिष डाँगी, सुनिल बललाई भित्र्याएको थियो भने विदेशी खेलाडीका रुपमा करिम ओमोलाजा, नुर्लान नोब्रोजोभ, एन्ड्रेस नियालाई अनुबन्ध गरिसकेको छ।

