टाेखालाइभ/असोज २३,२०७८
प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा बिगत २ बर्ष देखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिना देखी माघ सम्म संचालन हुने भएको छ ।
यहि असोज १५ गते प्रदेशका सामाजिक बिकास मन्त्री बिजय सुबेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु आज एक समारोह बिच सार्वजनिक गरिएको हो ।
बागमती प्रदेशले आगामी फागुन देखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरि प्रदेशले आफ्नो टिम तयारीको लागी पनि नवौं राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो ।
उक्त प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोट मार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि रु ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् । जिल्ला टिममा ब्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ भने समुह खेलमा बिजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरि प्रदेशमा सहभागी गराइनेछ ।
प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित रु २ करोड र थप रु ४ करोड ५४ लाख प्रदेश सरकार संग माग गरि जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ । स्थानिय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, कृकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन् ।
प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रीकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ ।
करिब एक महिना सम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्ला लाई समेट्ने गरि आयोजना गरिने बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले बताए ।

