टाेखालाइभ / श्रावण २४,२०७८,
एजेन्सी /लियोनल मेसीले आज (आइतबार) बार्सिलोना छाडेको घोषणा गरेका छन् । मेसीले आफुलाई बार्साको अत्यन्त माया लाग्ने बताउँदै बार्सा छाड्न मन नभएको बताएका थिए। बार्सा छाडेको घोषणा गर्ने कार्यक्रममा बार्सा छाड्न मन नभएको बताउँदै गर्दा पत्रकार सम्मेलनमा बार्साबाट विदा मागेका मेसीले कार्यक्रमभर आँसु थाम्न सकेनन्।
कार्यक्रममा उपस्थित दर्शक तथा पत्रकारहरुले उनलाई स्टेन्डिङ ओवेसन दिएका थिए। निकै लामो स्टेन्डिङ ओवेसन पाएका मेसी स्टेजमै भक्कानिएर रोएका थिए।
केही दिनअघि बार्साले मेसी अब क्लबमा नरहने घोषणा गरेसँगै उनलाई आबद्ध गर्न चाहने क्लबहरुको लर्को लागेको थियो। मेसीले पनि कार्यक्रममा बोल्दै धेरैतिरबाट प्रस्ताव आइरहेको बताए। खेलकुदको निकै चर्चित तथा प्रतिष्ठित समाचार संस्था इएसपीएनले मेसी पिएसजी जाने पक्का भइसकेको जनाएको छ।
मेसीले आजै राति वा भोलि पिएसजीमा मेडिकल गर्ने समेत स्रोतले उल्लेख गरेका छन् । त्यसपछि केही दिनमा पिएसजीले मेसीलाई अनुबन्ध गरेको आधिकारिक घोषणा गर्ने पनि इएसपीएनले बताएको छ।
मेसीको स्वागतका लागि पिएसजीले आइफिल टावर नै बुक गरिसकेको छ। पिएसजीले आइफिल टावरमा झलमल बत्ती बाल्दै मेसी आएको घोषणा गर्ने योजनामा छ।
यस्तैमा अगस्ट १० तारिखका लागि पिएसजीले आइफिल टावर नै बुक गरेको समाचार बाहिर आएको छ।
मेसीको स्वागत त्योभन्दा पनि भव्य हुने धेरैले अड्कल गरेका छन्। यसअघि बार्साबाट नेयमारलाई अनुबन्ध गर्दा पनि पिएसजीले आइफिल टावरबाटै नेयमारलाई भब्य स्वागत गरेको थियो।

