• TOKHA LIVE

    • १५ श्रावण २०७८, शुक्रबार १०:०८

    साफ आयोजना बारे छलफल हुँदै

    टोखा लाइभ ।२०७८ साउन १५ गते

    काठमाडौं । दक्षिण एसियाको प्रतिष्ठित साफ च्याम्पियनसिप आयोजनाका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिमा छलफल हुने भएको छ । शुक्रबार बोलाएको केन्द्रिय समितिको आपतकालिन बैठकमा साफ च्याम्पियनसिपका विषयमा छलफल हुने एन्फाले जनाएको छ । एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच उत्पन्न विवादको विषय तथा साफ च्याम्पियनसिपका विषयमा बैठक बस्ने लागेको हो । साफले आइतबार नै साफ च्याम्पियनसिपका लागि आधिकारिक प्रस्ताव राख्न एन्फालाई पत्राचार गरेको थियो ।

    शुक्रबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो । त्यससँगै सहभागी टोलीहरुले प्रतियोगिता अक्टोबरमा गर्न सहमति गरेका थिए । आयोजनाका लागि शुक्रबारको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव राख्ने अवसर पाएको थियो । आयोजना बारे अन्तिम निर्णय भने साफले नै गर्नेछ । प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन ।

    भुटानमा भने कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता नहुने भएको हो । आयोजना दावी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने देखिन्छ । यसअघि एन्फाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै आयोजना आवेदनका लागि स्वीकृति पाएको थियो । तर उक्त स्वीकृति पाएको दुई दिन नबित्दै सरकार परिवर्तन भएको थियो । यसका बाबजुद पनि एन्फा आयोजना गर्न अघि सरेको थियो । सरकारबाट सकारात्मक सहयोग पाउनेमा एन्फा आशावादी छ । पछिल्लो पटक नेपालले सन् २०१३ मा साफ च्याम्पियनसिप आयोजना गर्दा सेमिफाइनल पुगेको थियो । नेपाल अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन ।

    आफ्ना वरिष्ठ उपाध्यक्ष नेम्बाङमाथि आरोप लगाउँदै कुवेती अलमुताइरीले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने घोषणा पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न गर्न एन्फाले शुक्रबारका लागि केन्द्रिय कार्यसमितिको आपकालिन बैठक डोकेको हो ।
    पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो । पछिल्लो घटना क्रम र साफ च्याम्पियनसिप आयोजनाको प्रस्ताव गरि दुई वटा विषयमा छलफल गर्न शुक्रबार ४ः०० बजेका लागि आपतालिन बैठक बेलाइएको छ,’ एन्फा प्रवक्ता राईले भने ।

    अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने बुझाएका छैनन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले राजीनामा नदिन र केहि दिन आराम गर्न भनेपछि उनले लिखित राजीनामा नबुझाएको बताइएको थियो । अर्कोतर्फ वरिष्ठ उपाध्यक्ष नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए । उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन् । एन्फाले अनौपचारिक रुपमा नेम्बाङ र अमुताइरीकाबीचमा सहमतिका लागि गरिएको प्रयास पनि सफल भएको बुझिएको छ ।

    अलमुताइरीले आफूसँग नेम्बाङले माफी माग्नुपर्ने माग राखेको श्रोतले बतायो । तर, नेम्बाङ भने त्यो स्वीकार्ने पक्षमा छैनन् । उनले अलमुताइरीले सामाजिक सञ्जालमार्फत विना कारण आफूमाथि गम्भिर आरोप लगाएका कारण त्यसमा छानविन हुनुपर्ने माग राखेका छन् । छानविनबाट आफू दोषी देखिए पदबाट राजीनामा दिने पनि नेम्बाङले घोषणा गरेका छन् । एन्फा अध्यक्षलाई सोमबार पत्र लेख्दै नेम्बाङले सामाजिक सञ्जालमा आफ्नो बदलान गरेको हुँदा के कति कारणले अलमुताइरीलाई नाटक गरे र के कति कारणले राजीनामा दिनुपर्यो आवश्यक छानविन गरि सत्यतथ्थय तत्काल सार्वजनिक गर्न अनुरोध गरेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै