• Sanu Raj Dangol

    • २७ असार २०७८, आईतवार ०७:५८

    अर्जेन्टिनाले जित्यो कोपा अमेरिका!

    टाेखालाइभ/असार २७, २०७८

    एजेन्सी –  कोपा अमेरिकाको साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि हात पारेको छ ।याे संगै २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जित्ने सपना पूरा गर्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो ।

     

    निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन ।पहिलो हाफमा खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए । एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

    १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए ।

    खेलको ४३ औं  मिनेटमा रिचार्लीसनको प्रहार बाहिरिंदा ब्राजिल खेलमा फर्कन सकेन । दोस्रो हाफमा ब्राजिलले फ्रेडको स्थानमा रोबर्टो फिर्मिनोलाई मैदानमा पठाउँदै आक्रमण बलियो पर्ने रणनीति लिएको थियो । त्यसै अनुसार ब्राजिलले अवसर पनि सिर्जना गर्यो । ५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे ।

    ६६औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र भिडभाडको अवस्थामा गरेको प्रहार गोलरक्षकसम्म पुग्न सकेन ।८८ औं मिनेटमा गोलरक्षक मार्टिनेजले सानदार बचाउ गर्दै अर्जेन्टिनाको अग्रता कायम राखे । कर्नरमा आएको रिबाउन्डमा ग्याबिगलले गरेको शक्तिशाली प्रहारलाई मार्टिनेजले पन्च गरेर बाहिर पठाएका थिए । लगत्तै अर्कोतर्फ मेस्सीले अर्जेन्टिनाको जित पक्का गर्ने सुवर्ण अवसर खेर फाले । इन्ज्युरी समयमा एडरसनले डे पलको प्रहारलाई वन भर्सेस वनको स्थितिमा विफल पार्दै झिनो आशा कायम राखेका थिए । तर त्यसपछि ब्राजिलले कुनै आक्रमण बुन्न नसक्दा अर्जेन्टिना उपाधि जित्न सफल रहयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै