टाेखालाइभ/ असार २४,२०७८
काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा मृत्युका सबैभन्दा बढी केश छन्। अमेरिकामा मात्र ६ लाख ६ हजार २१६ संक्रमितको निधन भएको छ। यो कुल संख्याको १५ प्रतिशत हो।सबैभन्दा बढी मृत्यु हुने संख्याको आधारमा ब्राजिल दोस्रो नम्बरमा रहेको छ। ब्राजिलमा संक्रमणकै कारण ५ लाख २८ हजार ५४० ले ज्यान गुमाएका छन् भने तेस्रो नम्बरमा रहेको भारतमा ४ लाख ४ हजार २११ जनाले ज्यान गुमाएका छन्। अमेरिकी र युरोपियन मुलुकमा कोरोनाका नयाँ भेरियन्टको संक्रमण र मृत्युदरमा कमी आइरहेको बताइएको छ।
विश्वमा संक्रमितको संख्या ह्वात्तै बढाउनुमा कोरोनाको डेल्टा भेरियन्ट कारक हो। यसलाई निकै संक्रामक र खतरनाक मानिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार नयाँ भेटिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढीमा यसै भेरियन्टको संक्रमण देखिएको छ।
विश्वभर तीन अर्ब ३२ करोड ५५ लाख ६७ हजार १३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।जोन हप्किन्स विश्वविद्यालयको जानकारी पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९६० जना रहेका छन ।

