टाेखालाइभ / असार २३, २०७८
एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको इस्टेडीओ नेसनल डी ब्रासालिया मैदानमा भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्दै कोपा अमेरिका कप उपाधि भिडन्तका लागि ब्राजिलसँगको भेट पक्का गरेको हो ।कोलम्बिया टाइब्रेकरमा पराजित भएको खेलमा अर्जेन्टिनाले लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरसम्म पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटबाट छिनोफानो लागेको थियो ।

लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले सातौं मिनेटमै गोल गरेका थिए ।६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । त्यसपछि दुबै टिमबाट गोल गर्ने प्रयास भएपनि थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो।टाइब्रेकरमा कप्तान मेस्सी, लौटारो र लियान्द्रो डानियल पेरेडेसले गोल गरेका थिए ।
रोड्रिगो डी पाउल गोल गर्न चुके पनि अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो भने कोलम्बियाका हुँवा काउड्राडो र मिगुएल बोरजाले मात्र गोल गर्न सके । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

अर्जेन्टिनाले अब उपाधिका लागि ब्रजिलसंग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले सेमिफाइनलमा चिलीलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो । फाइनल खेल आइतबार बिहान नेपाली समयानुसार ५ः४५ बजे ब्राजिलको मैदान माराकानामा हुनेछ ।

