• TOKHA LIVE

    • २० असार २०७८, आईतवार १२:३२

    मेस्सी चम्किए पछि अर्जेन्टिना कोपा अमेरिकाको सेमी-फाइनलमा !

    टाेखालाइभ/ असार २०,२०७८

    एजेन्सी –अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी चम्किए पछि अर्जेन्टिना कोपा अमेरिकाको सेमी-फाइनलमा प्रवेश गरेको छ। मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना ३-०ले इक्वेडरलाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा मेस्सीले एक गोलसँगै दुई असिस्ट दिँदा अर्जेन्टिना जित निकाल्दै सेमी-फाइनलको यात्रा तय गरेको हो ।खेलको ३९ औं मिनेटमा रोड्रीगो डे पलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डे पलले सहजै गोल गर्दै १-० ले अघि बढाएका थिए । अर्जेन्टिनाको सिनियर टोलीका लागि डे पलको यो पहिलो गोल हो ।

    पहिलो हाफ १-० को गोलअन्तरमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले दुई गोल गर्न सफल भयो । खेलको ८४ औं मिनेटमा अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा अग्रता दोब्बर पारे । इन्ज्युरी समयको तेस्रो मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमा गोल गर्दै अर्जेन्टिनाको अन्तिम चारको यात्रा पक्का गरे । पेनाल्टी क्षेत्रबाहिर पाएको फ्री-किकलाई उत्कृष्ट तरिकाले सुन्दर गोलमा परिणत गर्दै मेस्सीले आफ्नो टोलीको लागि जित पक्का गरेका हुन्।

    कोलम्बियाले भने अन्तिम ८ मा पेनाल्टी सुटआउटमा उरुग्वेलाई पराजित गर्दै सेमी-फाइनलको यात्रा तय गरेको थियो।फाइनल प्रवेशका लागि अर्जेन्टिनाले सेमी-फाइनलमा कोलम्बियाको सामना गर्नेछ।
    अर्को सेमिफाइनलमा ब्राजिल र पेरुले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबारको खेलमा पेरुले पाराग्वेलाई टाइब्रेकरमा पराजित गर्दा ब्राजिलले चिलीलाई १-० ले पाखा लगाएको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै