टाेखालाइभ डट कम/जेठ १५ ,२०७८
नेपालकी सुटिङ खेलाडी कल्पना परियारले
जापानमा हुने टोकियो ओलम्पिकका लागि शुक्रबार वाइल्ड कार्ड प्राप्त गरेकी छिन् । यो संगै उनी टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गर्ने पहिलो खेलाडी समेत भएकी छिन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै टोकियो ओलम्पिकमा सहभागी हुने निश्चित भएको छ ।
कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् । ‘नेपाल ओलम्पिक कमिटी र नेपाल सुटिङको अथक प्रयासपछि यो वाइल्ड कार्ड प्राप्त भएको छ,’ नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले भने ।
उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको बताए । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ र कल्पनासँगै चार खेलाडीले प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । सहभागी हुने अन्य तीन खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्स शाह तथा म्याराथनका गोचीचन्द्र कार्की रहेका छन् ।

