टाेखालाइभ/जेठ १०,२०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालका कोभिड–१९ को सङ्क्रमण दर यो साता केहि घटेको जानकारी दिइएको हो।
इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गर्नुभएको छ।
वागमती १६.३१ प्रतिशत, गण्डकी १०.८७ प्रतिशत र लुम्बनी प्रदेशमा १९.१ प्रतिशत सङ्क्रमणको दर घटेको छ । सबभन्दा बढी प्रदेश नं २ मा सङ्क्रमण दर फैलिएको छ । प्रदेश नं २ मा १०५.१ प्रतिशतको दरले सङ्क्रमण बढेको छ । प्रदेश नं १ मा २६.८ प्रतिशत, कर्णालीमा २९.१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९।६ प्रतिशतले सङ्क्रमण दर बढेको पाइएको छ । उहाँले सङ्क्रमण दर कम भए पनि जनस्वास्थ्यका मापदण्ड पालना नगरे पुनः बढ्ने श्रेष्ठको दावी छ ।
पछिल्लो २४ घण्टामा सात हजार ९१४ सङ्क्रमित भेटिएका छन् । शनिबारको तुलनामा आज भेटिएका सङ्क्रमितको सङ्ख्या कम हो । शनिबार आठ हजार ९८० सङ्क्रमित फेला परेका थिए । उहाँका अनुसार वागमती, गण्डकी र लुम्बनी प्रदेशमा सङ्क्रमण दर घटेको र प्रदेश नं १, प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने बढेको पाइएको छ ।
यस्तै यसपटक जेठमा नै ३०७.६ जनामा सङ्क्रमणको दर रहेको उहाँको भनाइ छ । सङ्क्रमणको पोजिटिभ हुने दर पनि गत वर्षभन्दा यस वर्ष दोस्रो लहरले बढेको पाइएको छ । इपिडिमियोलोजिष्ट डा श्रेष्ठ सङ्क्रमणबाट निधन हुने गत वर्षभन्दा यस वर्ष बढी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यस वर्ष सङ्क्रमितमध्ये १.३१ प्रतिशतको निधन र गत वर्ष ०.७५ प्रतिशतको भएको थियो । अहिले हरेक उमेर समूहमा सङ्क्रमणको कारणले मृत्युदर बढिरहेको उहाँको भनाइ छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले सबभन्दा बढी १० जिल्लामा सङ्क्रमणको जोखिम रहेको बताउनुभयो ।

