टोखा लाइभ ।२०७८ जेठ ६ गते
ललितपुर । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइएको छ । करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै बुङ्मती लागिएको हो ।
अपराह्न ३ बजे खटमा हालेर ५ बजे बुङ्मती पुर्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, “यहाँ मच्छिन्द्रनाथ मन्दिर निर्माणाधीन अवस्थामा रहँदा अस्थायी मन्दिरमा ल्याएर राखेका छौँ ।” खोकना दोबाटोबाट सो मन्दिरसम्म लगभग साढे दुई किलोमिटर दूरीको यात्रामा खोकनाका साथै बुङ्मतीवासीले सङ्क्रमणको ख्याल नगरी छ्वाली बालेर बाटो देखाउँदै स्वागत गरेको शाक्यले जानकारी गराए ।
सङ्घका पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने उनको भनाइ थियो ।
हालको कोरोना कहरबीच पनि संस्कार र संस्कृति मास्नुहुन्न भन्ने सोचअनुरुप केही विधि पुर्याएर मच्छिन्द्रनाथलाई बुङ्मती पठाउन सफल भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले खुशी व्यक्त गरे ।
गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ । गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा र्कोटक नागराजासमेत कामरुप कामाख्या गइ रातो मच्छिन्द्रनागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ । आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।

