२०७८ बैशाख २५
ललितपुर – ललितपुर महानगरपालिका, ज्यापु समाज यल र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौता अनुसार
ज्यापू समाजको वृद्धाश्रममा कोभिड उपचारको लागि ११० शैय्याको आइसोलेसन सेन्टर सुरू गरिएको हो।
सम्झौता पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन ,ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गर्नु भयो । महानगरपालिकाको वडा नं ४ स्थित बागडोलमा रहेको वृद्धाश्रममा आइसोलेसन सेन्टर शुरु गरिएको हो । सुन्दर ढोका साथी सेवाले आइसोलेसन सेन्टरका लागि खाना उपलब्ध गराउनेछ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य र सुरक्षामा कुनै कमी हुन नदिने बताउनु भयो। पहिलो प्राथमिकता कोभिड महामारीबाट नागरिकलाई बचाउनु भएको भन्दै उहाँले महानगरले वडा नं ३ स्थित मदनस्मारक विद्यालय परिसरमा रहेको ठूलो हललाई समेत आइसोलेसन सेन्टर बनाउने तयारी गरेको बताउनु भयो।
त्यस्तै महानगरले नेपाल युथ फाउन्डेसनको नेपाल पुनर्थापना केन्द्र सुनाकोठीमा एक साता अघि ५० शैय्याको आईसोलेसन सञ्चालनमा ल्याइसकेको छ भने योसँगै महानगरले संचालन गरेको आईसोलेसनको शैय्या संख्या १६० पुगेको छ। फाेटाे: नेवाजपाटी

