टाेखालाइभ/ चैत २८, २०७७
काठमाण्डाै – नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानलसहित विजयी हुनुभएको छ । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भएपछि उहाँ विजयी हुनुभएको हो ।पाँच जिल्लाको अन्तिम परिणाम आउनु भन्दा अघि नै पोख्रेलले प्रतिष्पर्धी निर्मला शर्मासँग २१ सय मतको अग्रता बनाउनु भएको छ ।
निर्वाचन समितिले उहाँको जितको औपचारिक घोषणा भने गरेको छैन । लगभग सबै पदाधिकारी नै पोख्रेलको प्यानलबाट विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्षमा उदय जीएम र बाला अधिकारी, महासचिवमा रोसन पुरी, सचिवमा गोविन्द चौलगाइँ, पवन आचार्य, सृजना अर्याल, नारायण किलम्बु, दिपेन्द्र चौहान र हेमकर्ण विक विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखासमिति सदस्यमा लेखनाथ न्यौपाने वियजी हुनुभएको छ ।पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियनले माओवादी निकट प्रेस संगठनसहित ११ दल नजिकका संगठनसँग गठबन्धन गरेको थियो । महासंघको धेरैजसो जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोसिएट्स तर्फ पनि प्रेस युनियन र प्रेस संगठनकै प्यानलका उम्मेद्वारले जितेका छन् ।
एमाले निकट प्रेस चौतारीले जसपा, राप्रपा लगायत नौ दल निकट संगठनसँग गठबन्धन गरेको थियो । यो चुनावमा पहिलोपटक प्रत्यक्ष निर्वाचित प्रणाली अपनाइएको थियो । १३ हजार एक सय मतदाता रहेकोमा ९५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

