टाेखा लाइभ डट कम /चैत्र६ काठमाडौं ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा (नेपाल र तिब्बतको मोहडा)बाट सफल आरोहण गरेर विश्व कीर्तिमानी कायम गरेकी साहसी नेपाली पर्यटन पत्रकार कल्पना महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले औपचारिक रुपमा प्रमाणित गरेर प्रमाण–पत्र प्रदान गरेको हो। बुधबार ललितपुर महानगरपालिकाले आयोजना गरेको एक विशेष समारोहबीच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवको हातबाट कल्पनाले सो प्रमाणपत्र ग्रहण गर्नुभएको हो ।कार्यक्रममा आयोजक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्यालले पत्रकार महर्जनको साहसिक कीर्तिमानीलाई दिल खोलेर तारिफ तथा प्रशंशा गरेका थिए।

पर्यटन पत्रकारितामा आबद्ध हुने क्रममा कल्पनाले सन् २०१८ र २०१९ मा नेपाल र तिब्बतको दुबै मोहडाबाट सगरमाथा चढ्नुभएको हो । संयोगले नेपाली र अङ्ग्रेजी एउटै मितिमा उहाँले सगरमाथा आरोहण गर्नुभएको हो । दुवै वर्षको आरोहण अङ्ग्रेजी तारिख मे २३ थियो भने नेपाली मिति २०७५ र २०७६ को जेठ ९ नै परेको थियो । ललितपुर महानगरपालिका स्थापनाको १०० औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको अवसरमा आरोही कल्पनाले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल हुनुभएको थियो ।
प्रमाणपत्र प्रदान गर्दै पूर्व राष्ट्रपति डा. यादवले ललितपुरमा जन्मिएकी कल्पनाको यो साहासिक सफलताले ईच्छाशक्ति भए महिलाले पनि जस्तो सुकै काम गर्न उदाहरणीय बनेको भन्दै अब सामाजिक सेवाका साथै ग्लोबल वार्मिङका कारण विश्वलाई पारिरहेको असरबारे जनचेतना जगाउने अभियान गरेर त्यसको न्यूनिकरणलगायतका क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिएका थिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कल्पना ललितपुरको मात्रै नभएर सींगो देशकै एक उदाहरणीय पात्र बन्न सफल भएको चर्चा गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा पनि नयाँ आयम थप्ने काम गर्नको लागि अग्रसर हुनुपर्ने बताएका थिए ।
यूकेमा केन्द्रीय कार्यालय रहेको वर्ल्ड बुक अफ रेकर्डले विल्कुलै नयाँ एवं साहासिक काम गर्नेहरुलाई निश्चित मापदण्डको आधारमा प्रमाणपत्र प्रदान गर्ने गर्दछ । कल्पनाले सगरमाथाको दुईटै मोहडाबाट सफल आरोहण गरेर साहासिक काम गरेकोले नयाँ रेकर्ड कायम गरेको प्रमाणपत्र दिइएको वल्र्ड बुक अफ रेकर्डले जनाएको छ।

