• अमृता नेपाली
ताप्लेजुङ ,फाल्गुन २७ ।ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा आगलागी भएको एक हप्ता नबित्दै फेरि आगलागी भएको छ ।फुङ्लिङ नगरपालिका ५ उकालिपानीमा बिहिवार दिउँसो आगलागीबाट एक घर जलेर नष्ट भएको हो।
स्थानीय सन्तोष माबो लिम्बुको जस्ता र काठले बनेको घर एकतले घर जलेको हो ।नगरपालिका को दमकल र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आगो नियन्त्रणमा लिए पनि घर भने जलेर खरानी भएको नगरपालिकाका नगरप्रमुख छत्रपती प्याकुरेलले जानकारी दिनु भएको छ ।
घरमा एक्लै बस्दै आएका लिम्बुको आगलागीमा परि ८० हजार रुपैयाँ पैसा ३० हजार बराबरको लत्ताकपडा र १ लाख ५० हजार बराबरको घर जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
बिहान खाना पकाउन बालेको आगो ननिभाएको कारण आगलागी भएको पीडित लिम्बुले बताउनु भएको छ। ताप्लेजुङमा बर्सेनि आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षती हुँदै आएको छ।

