• TOKHA LIVE

    • १ फाल्गुन २०७७, शनिबार २१:५६

    एनओसी अध्यक्ष श्रेष्ठद्वारा प्रशिक्षणमा अर्जुन दृष्टि लगाउन आग्रह:-

    पोखरा स्पोर्टस/ फागुन १ ,२०७७

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले ओलम्पिकको तयारीमा रहेका खेलाडीहरु सँग भेट गरी आफ्नो प्रशिक्षणमा अर्जुन दृष्टि लगाउन आग्रह गरेका छन।

    सन २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको लागि वन्द प्रशिक्षणमा रहेका पोखरामा भेट गरी अध्यक्ष श्रेष्ठले सो आग्रह गरेका हुन । अध्यक्ष श्रेष्ट सहित एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, उपाध्यक्ष तेज गुरुङ, महासचिब निलेन्द्रराज श्रेष्ठ सहितको टोलीले खेलाडी तथा प्रशिक्षकहरु सँग भेट गरी आवश्यक जानकारी लिएका थिए ।

    भेटका अवसरमा अध्यक्ष श्रेष्ठले ओलम्पिकमा सहभागी हुनका लागि महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै उनले भने–“यो नेपालकालागि सुर्वण अवसर हो, यसको व्यक्तिगत रुपमा समेत खेलाडीले आत्मसाथ गर्न आवश्यक छ ।” उनले खेलाडीलाई मानसिक रुपमा समेत ओलम्पिकको तयारीमा जुट्न आग्रह गर्दै ओलम्पिकको लागि वाइल्डकार्डको छनोटमा पर्न सक्नु उपलव्धी समेत भएको बताए ।

    वाइल्डकार्ड मार्फत ओलम्पिकका लागि सहभागी हुन तयारी रहेका आर्चरी खेलका दुई जना खेलाडी र भारोत्तोलनका दुई जना खेलाडी तथा प्रशिक्षकहरुलाई समेत छुट्टा–छुट्टै भेट गरी उनीहरुको व्यवस्थापनको समेत अध्यक्ष श्रेष्ठले जानकारी लिएका थिए । खेलाडीलाई आवश्यक पर्ने खेल सामाग्रीको समेत चासो राख्दै आवश्यक खेल सामाग्री ल्याउन तथा वैदेशिक प्रशिक्षणको व्यवस्थाका लागि समेत एनओसीले पहल गर्ने उनले बताए ।

    वाइल्डकार्ड मार्फत आर्चरी खेलका लागि तयारीमा रहेका खेलाडीमा ज्ञानु अवाले र तिलक पुन मगर रहेका छन भने प्रशिक्षकमा कृष्ण माया स्याङतान रहेकी छिन । त्यसै गरी भारोत्तोलनतर्फ खेलाडीमा सञ्जु चौधरी र कमला श्रेष्ठ तथा प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन ।

    अध्यक्ष श्रेष्ठको टोलीले पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा खेलाडी सँग भेट गरेका थिए । सो अवसरमा नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङ, वरिष्ठ उपाध्यक्ष वसन्त थकाली र महासचिब रमेश प्रसाद सिवाकोटीले प्रशिक्षणका बारेमा जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीद्वयलाई ट्रयाकसुट हस्तान्तरण गरेका थिए ।

    यसै विच अध्यक्ष श्रेष्ठले पोखरा रंगशाला स्थित भारोत्तोलनको प्रशिक्षण हलको पनि अवलोकन गरेका छन । सो अवसरमा कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामी लगाएतले एनओसी टोलीलाई स्वागत गरेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै