• TOKHA LIVE

    • १५ माघ २०७७, बिहीबार १५:०५

    ‘भ्रष्टाचार सूचकाङ्क’ मा नेपाल गत वर्षभन्दा तल झर्‍यो:-

    बिबिसी / माघ १५ ,२०७७

    भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको तुलनामा झन् खस्किएको ट्रान्सपरेन्सी ईन्टरनेसनलले जनाएको छ।

    उक्त अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार ३३ अङ्क प्राप्त गर्दै नेपाल ११७औँ स्थानमा छ। गत वर्ष नेपाल ११३ औँ स्थानमा थियो।

    दक्षिण एशियाबाट भुटान सबैभन्दा माथि २४ औँ स्थानमा र अफगानिस्तान १६५ स्थानमा छन्।

    कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अङ्कसहित शीर्ष स्थानमा छन्।

    दक्षिण एशियाको स्थिति

    • भुटान – २४ औँ स्थान
    • माल्दिभ्स – ७५ औँ स्थान
    • भारत – ८६ औँ स्थान
    • श्रीलङ्का – ९४ औँ स्थान
    • नेपाल – ११७ औँ स्थान
    • पाकिस्तान- १२४ औँ स्थान
    • बाङ्ग्लादेश – १४६ औँ स्थान
    • अफगानिस्तान- १६५ औँ स्थान

    गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एशियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा ‘नेपालमा गत वर्ष भ्रष्टाचार झन् बढेको’ जनाएको थियो।

    तर नेपाल सरकारले ‘ग्लोबल करप्शन ब्यारोमिटर एशिया २०२०’ को निष्कर्षको खण्डन गरेको थियो।

    के भन्छ टीआई?

    ट्रान्सपरेन्सी इन्टरन्याश्नलले जारी गरेको विज्ञप्तिमा आफूहरूले तयार पारेको सूचीमा अग्रस्थानमा रहेका देशले स्वास्थ्य सेवामा राम्रोसँग लगानी गरेका उल्लेख छ।

    उनीहरूले प्रजातान्त्रिक मान्यता र कानुनी शासनको उल्लङ्घन गर्ने सम्भावना कम रहने उसले जनाएको छ।

    “कोभिड-१९ स्वास्थ्य वा आर्थिक सङ्कट मात्रै होइन, यो भ्रस्टाचारको सङ्कट हो र यो त्यस्तो सङ्कट हो जुन हामी अहिले व्यवस्थापन गर्न सकिरहेका छैनौँ,” विज्ञप्तिमा ट्रान्सपरेन्सी इन्टरन्याश्नलकी अध्यक्ष डेलिया फेरिरा रुवियोलाई उद्धृत गरिएको छ।

    जनस्वास्थ्यसँग सम्बन्धित आपत्कालीन अवस्थासँग जोडिँदा भ्रष्टचारले सर्वसाधारणहरूको जीवन र जीविकामा गम्भीर खतरा पार्ने प्रतिवेदनमा उल्लेख छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै